वार्षिक डेढ अर्ब बढीको पेट्रोल जोगाउँदै विद्युतीय कार, बढाउँदै बिजुली खपत

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग बढ्दो छ । भन्सार विभागको चालु आवको माघको तथ्यांक अनुसार कुल सवारी आयातमा ईभीको हिस्सा झन्डै ७० प्रतिशत पुगेको छ ।

सरकारले लिएको प्रोत्साहन नीति र दिएको भन्सार छुटका कारण नेपालमा ईभीको प्रयोग ह्वात्तै बढेको हो । छोटो अवधिमै ईभी प्रयोगकर्ताको ग्राफ आकाशिएकाले नेपाल विश्वमै ‘ईभी एडाप्टेशन’ उच्च भएको मुलुकमा समेत पर्दछ ।

व्यावसायिक रुपमा नेपालमा विद्युतीय सवारी भित्रिन थालेको आधा दशक मात्रै भएको छ । यति छोटो अवधिमै नेपाली सडकमा अहिले १३ हजार बढी ईभी कार गुड्न थालेका छन् ।

ईभीको प्रयोग बढेसँगै पेट्रोलियम पद्धार्थ (मुख्यगरी पेट्रोल)को खपत समेत घट्न थालेको छ भने विद्युत् खपत बढ्दै गएको छ । साथै, थोरै भए पनि प्रदूषण नियन्त्रणमा समेत भूमिका खेलेको छ ।

एकीन तथ्यांक नभए पनि अहिले नेपालमा गुड्ने ईभीले वार्षिक डेढ अर्ब रुपैयाँ बढीको इन्धन जोगाउँदै आएका छन् । उदाहरणका लागि काठमाडौं उपत्यका एउटा कार औसतमा दैनिक २०/२२ किलोमिटर गुड्छन् भने उपत्यका बाहिर सोभन्दा बढी गुड्छन् । यस आधारमा औसतमा एउटा कार वर्षमा ८ हजार किलोमिटर हाराहारीमा गुड्छ ।

अहिले बजारमा बिक्री हुँदै आएका विद्युतीय कारको साइजकै पेट्रोल कार हुने हो भने प्रतिलिटर १० देखि १२ किलोमिटर माइलेज दिन्थे । दैनिक २०/२२ किलोमिटर गुड्ने कारले दैनिक औसतमा २ लिटर इन्धन खपत गर्छ भने वार्षिक ७३० लिटर खपत हुन्छ ।

हालको बजार मूल्य अनुसार एउटा कारले वार्षिक १ लाख २५ हजार रुपैयाँ हाराहारीमा इन्धन खपत हुन्छ । यसै आधारमा १३ विद्युतीय कारले वार्षिक ९४ लाख ६४ हजार लिटर पेट्रोल बचाउने देखिन्छ । अहिलेको बिक्री मूल्य अनुसार ईभी कारले वार्षिक १ अर्ब ६२ करोड रुपैयाँ बराबरको पेट्रोल खपत घटाउन सफल भएको हो ।

बढाउँदै विद्युत् खपत

ईभीको संख्या बढेसँगै बिजुलीको खपत पनि बढ्दै गएको छ । नेपालले आफ्नै कच्चा पदार्थबाट क्लिन इनर्जी उत्पादन गरिरहेको छ । नेपाली बिजुली बढी भएर भारत लगायतका देशमा निर्यात प्रयास भइरहेका छन् । यस्तोमा महंगो पेट्रोलियम पदार्थ किनेर ल्याउनुभन्दा आफ्नै विद्युत् खपत बढाउन प्रयास भइरहेका छन् ।

विद्युतीय सवारीले १ किलोमिटर गुड्दा औसतमा ०.१६ युनिट बिजुली खपत गर्छन् । यस आधारमा वार्षिक ८ हजार किलोमिटर गुड्ने ईभीले १२८० युनिट बिजुली खपत गर्छ भने १३ हजार कारले वार्षिक १ करोड ६६ लाख बढी युनिट (१६ हजार ६४० मेगावाट)बिजुली खपत गर्ने गरेको देखिन्छ ।

नेपाल विद्युत प्राधिकरणले चार्जिङ नेटवर्क नै बनाएर विद्युत् बिक्री गर्दै आएको छ । साथै, निजी कम्पनीले पनि फास्ट चार्जर लगाइरहेका छन् । धेरै विद्युतीय गाडी चढ्ने मानिसले आफ्नै घरमा एसी चार्जर जडान गरेर गाडी चार्ज गर्दै आएका छन् ।

नेप्से जसरी बढ्यो त्यसैगरी घट्यो, सोनापुरको सर्वाधिक कारोबार Read Previous

नेप्से जसरी बढ्यो त्यसैगरी घट्यो, सोनापुरको सर्वाधिक कारोबार

मुग्लिन पोखरा सडक : पूर्वीखण्डको आधा काम सकियो, पश्चिममा १७% मात्रै Read Next

मुग्लिन पोखरा सडक : पूर्वीखण्डको आधा काम सकियो, पश्चिममा १७% मात्रै