पुरानो सरकार ढल्दा सेयर बजारमा उछाल, नेप्सेले हान्यो शतक, कारोबार बन्द

काठमाडौं । सत्ता समीकरण बदलिएसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । मंगलबार जम्मा ५ मिनेट कारोबार हुँदा नेप्से तेस्रो सर्किट लागेर दिनभरका लागि कारोबार बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक ११७.७० अंकले बढेर २०६९ बिन्दुमा पुगेको छ । आज बजार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशत अर्थात् ७९.२९ अंकले बढेर पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

त्यसपछि खुलेको नेप्से ३० सेकेण्डैमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । फेरि, त्यसपछि खुलेको नेप्से ३० मिनेटमै ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार बन्द भएको हो ।

नेप्से परिसूचकमा उछाल आए पनि कारोबार भने न्यून छ । जम्मा ५ मिनेट बजार खुल्दा ३७ करोड ५२ लाख रुपैयाँ बढीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेको नियम अनुसार कारोबार खुलेको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो/बढ्यो भने सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगन हुन्छ ।

त्यसैगरी, कारोबार सुरु भएको दोस्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो/बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । त्यस्तै दोस्रो सर्किटपछि पनि सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

पुरानो नेपाली काँग्रेससँगको सत्ता गठबन्धन भत्काएर माओवादीले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार बनाउने भएसँगै नेप्सेमा उछाल आएको हो ।

सत्ता समीकरण फेरिएसँगै नयाँ अर्थमन्त्री आउने छन् । विगतमा सेयर बजारमैत्री भनेर चिनिएका पूर्वअर्थमन्त्री फेरि विष्णुप्रसाद पौडेल फेरि अर्थमन्त्री बन्ने चार्चा छ । त्यस्तै, माओवादीबाट वर्षमान पुन र रास्वपाबाट स्वर्णिम वाग्लेको पनि चर्चा रहेको छ । नयाँ अर्थमन्त्रीमा जो आए पनि साढे २ वर्षदेखि बियरिस ट्रेन्डमा रहेको सेयर बजार सुधारको पहल गर्ने लगानीकर्ताको अपेक्षा छ । यसैले लगानीकर्ता उत्साहित हुँदा आज नेप्सेले छलाङ हानेको हो ।

यद्यपि, यो बढाइ दिगो हुनेमा भने शंका छ । विगतमा पनि सत्ता फेरबदल हुँदा नेप्सेमा सर्किट लाग्ने र भोलिपल्टबाटै घट्न थालेका नजिर छ ।

डेढ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेले शतकको छलाङ हानेको दिन मंगलबार डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ति हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर र रिलायबल नेपाल लाइफको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, एशियन हाइड्रोपावर, बलेफी हाइड्रोपावर, जोशी हाइड्रोपावर, अरुण भ्याली, घलेम्दी, कामना सेवा विकास बैंक, बाराही हाइड्रोपावर, त्रिशूली जलविद्युत्, दोल्ती पावर, अपि पावर, नेशनल हाइड्रो, ग्रीभेन्चर्स, हिमाल दोलखाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

 

नयाँ गठबन्धन बनेसँगै प्रतिधिनिसभा बैठक स्थगित Read Previous

नयाँ गठबन्धन बनेसँगै प्रतिधिनिसभा बैठक स्थगित

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा Read Next

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा