काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले यही फागुन २५ गते महाशिवरात्रिको अवसरमा केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले उक्त दिन शिव धुनीसहित शिवको मूर्तिको प्राण प्रतिष्ठा गर्ने भएको हो । उक्त समारोहमा सहभागी हुन कम्पनीले सबै स्थानीयलाई आग्रह गरेको छ ।
यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले चाँडै जारी पूँजी रु. २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम रु. ३० करोड ६० लाख बराबरको रु. १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता सेयर आइपीओ जारी गर्ने भएको छ ।
बन्दीपुर केबलकार २०८१ वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत कम्पनीले जनाएको छ ।
सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । यो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ ।
परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको कम्पनीका वित्तीय निर्देशक शिवप्रसाद शर्माले बताए ।