काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना (साउन-माघ)मा निर्जीवन बीमा व्यवसाय खुम्चिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको माघको तुलनामा चालु आवको सोही अवधिमा बीमा शुल्क संकलन २.६० प्रतिशतले घटेको हो ।
प्राधिकरणका अनुसार चालु वर्षको माघसम्म १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा कम्पनीले २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६० करोड रुपैयाँले कम हो । गत वर्ष माघसम्म १४ निर्जीवन बीमा कम्पनीले मात्रै २३ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु वर्षमा १४ निर्जीवन बीमा कम्पनीले २२ अर्ब ३९ करोड र ३ निर्जीवन लघुबीमा कम्पनीले ७ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
चालु वर्षमा ३ निर्जीवन लघु बीमा कम्पनी थपिए पनि व्यवसाय भने खुम्चिएको हो । अर्थतन्त्रमा आएको संकुचनका कारण निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का लागेको हो । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय खुम्चिएको छ भने उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ । मुख्यगरी सवारीसाधनको व्यापार घट्दा निर्जीवन बीमा व्यवसायमा असर परेको हो ।
समीक्षा अवधिमा ६ निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ भने ८ वटाको बढेको छ । जसमा नेशनलको सबैभन्दा धेरै १९.२९ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमाको ४२.६८ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बीमा शुल्क संकलन घटे पनि बीमालेख संख्या भने बढेको छ । गत वर्ष ७ महिनामा १६ लाख ३६ हजार २८४ वटा पोलिसी जारी भएकोमा चालु वर्षको सोही अवधिमा १७ लाख २ हजार ९८७ वटा पोलिसी बिक्री गरेका छन् ।
माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब २ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना कम्पनीहरूले २ लाख ६१ हजार ५९० वटा बीमालेख जारी गरेका छन् ।
शिखरलाई मर्जरपछि बनेका कम्पनीले उछिन्न सकेनन्
व्यवसायमा शिखर इन्स्यारेन्सले आफ्नो वर्चश्व कायमै राखेका छन् । मर्जरपछि बनेका अरु कम्पनीहरू चुक्ता पूँजीको आधारमा शिखरभन्दा ठूला भए पनि बीमा शुल्क संकलनमा भने उछिन्न सकेका छैनन् ।
माघ मसान्तसम्म शिखरले २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरलाई पछ्याइरहेको सगरमाथा लुम्बिनीकोभन्दा २२ करोड रुपैयाँ धेरै हो । यद्यपि, समीक्षा अवधिमा शिखरको बीमा शुल्क २.८४ प्रतिशतले घटेको छ । गत वर्ष माघसम्म शिखरले २ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । माघसम्म शिखरले कुल १ लाख ७८ हजार ९१२ वटा बीमालेख जारी गरेको छ ।
साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी (सलिको)ले शिखरलाई पछ्याएको छ । तर, उछिन्न सकेको छैन । यस अवधिमा सलिकोले २ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, साविकको सिद्धार्थ र प्रिमियर मर्ज भई बनेको सिद्धार्थ प्रिमियर पनि व्यवसायमा शिखरभन्दा निकै पछि छ । माघसम्म सिद्धार्थ प्रिमयरले २ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा ६३ करोड रुपैयाँ कम हो ।
त्यस्तै, मर्ज भई बनेका आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआइसी व्यवसायमा शिखरको छेउछाउ समेत पुग्न सकेका छैनन् । माघसम्म आइजीआई प्रुडेन्सियलले १ अर्ब ९३ करोड, हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड बीमाशुल्क संकलन गरेका छन् । सानिमा जीआइसीले शिखरको तुलनामा आधाभन्दा कम प्रिमियम संकलन गरेको छ । माघसम्म यसले १ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मर्जरबाट पूँजीको आकार बढाए पनि सिनर्जी प्राप्त गर्न नसक्दा अन्य कम्पनीहरूले शिखरलाई टक्कर दिन नसकेका हुन् ।
माघसम्म प्रभुले १ अर्ब ८ करोड, नेकोले १ अर्ब ८७ करोड, एनएलजीले १ अर्ब ४३ करोड, नेपालले ८७ करोड, राष्ट्रिय बीमा कम्पनीले ९७ करोड, ओरेण्टलले ९३ करोड र नेशनलले ६९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
लघुबीमाको व्यवसाय ७ करोड मात्रै
माघसम्म लघुबीमा कम्पनीहरूले जम्मा ७ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको ०.१ प्रतिशत मात्रै हो ।
गत वर्षदेखि संचालनमा आएका लघुबीमाले अपेक्षित रुपमा व्यवसाय बढाउन नसकेको देखिएको छ । माघसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ३ करोड ६५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ३२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।