काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिको बाटो खुलेको छ । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै अध्यक्ष नियुक्तिको बाटो खुलाएको हो ।
तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको पदावधि सकिएसँगै गत पुस २१ गतेदेखि बोर्ड अध्यक्षबिहीन छ । रिक्त बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको हो ।
बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
कार्यविधि अनुसार रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेछ ।
बोर्डको अध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने छ । साथै, आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।
उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णङ्कलाई विभिन्न अंक भारमा विभाजन गरिएको छ । जसमा व्यावसायिक कार्ययोजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णङ्कमा मूल्यांकन हुने कार्यविधिमा उल्लेख छ ।