काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भई आज (शुक्रबार) देखि एकीकृत कारोबार शुरु भएको छ ।
यी दुई बैंकको एकीकृत कारोबार शुरु भएसँगै ग्लोबल नेपालकै सबैभन्दा ठूलो बैंक बनेको छ । यो नेपाली बैंकिङ्ग इतिहासकै सबैभन्दा ठूलो मर्जर पनि हो ।
शुक्रबार बिहान विशेष कार्यक्रमका साथ अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।
दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए भने मंसिर २ गते सम्पन्न दुवै बैंकको साधरण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।
दुबै बैंकबीचको सबै मर्जर प्रक्रिया सहित शेयर स्वाप रेसियो १००ः८५ अनुपात कायम भएको छ । एकीकृत बैंकको सञ्चालक समिति अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनेछन्। सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहनेछन्।
बिग मर्जर सम्पन्न भएसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको छ। यस बैंकको कूल चुक्ता पूँजी १८ अर्ब ४३ करोड कायम भएको छ ।
यस्तै बैंकका प्राथमिक पूँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ ।
यस्तै, बैंकले ३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टरबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ।