काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । पेट्रोलियम पद्धार्थबाट चल्ने कम्बस्चन गाडीको आयात घटे पनि डिजेल, पेट्रोलको खपत भने बढेको तथ्यांकले देखाएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ७ महिना ( साउन-माघ)मा सबै खाले इन्धनको खपत बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, हवाई इन्धन र मट्टीतेलको खपत समग्रमा ३.५५ प्रतिशतले बढेको हो ।
चालु वर्षमा डिजेलको खपत सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ । माघसम्म ७ लाख २९ हजार ७५२ किलोलिटर डिजेल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४९ हजार ९५० किलोलिटर धेरै हो । गत वर्ष माघसम्म ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत ०.९८ प्रतिशतले बढेको छ । माघसम्म ३ लाख ९१ हजार ४४७ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्ष सोही अवधिमा ३ लाख ८७ हजार ६५१ किलोलिटर आयात भएको थियो ।
त्यस्तै, हवाई इन्धनको आयात ६.९० प्रतिशतले बढेको छ । चालु आवको माघसम्म गत वर्षको सोही अवधिको तुलनामा ७ हजार १०८ किलोलिटर बढी अर्थात् १ लाख १० हजार १०० किलोलिटोर हवाई इन्धन आयात भएको छ ।
चालु वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि बढेको छ । गत वर्ष माघसम्म २९ करोड ८९ लाख किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा २९ करोड ३९ लाख किलो आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा ५० लाख ५३ हजार किलो धेरै ग्यास आयात भएको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले समग्र इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन हुन थालेकाले डिजेलको खपत बढेको हो । कतिपय उद्योगहरूले नियमित बिजुली नपाउँदा पनि डिलेल खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।
चालु वर्षको विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । ७ महिनाको अवधिमा ६ हजार बढी चारपाँग्रे र ४ हजार बढी दुईपाँग्रे ईभी नेपाल भित्रिएका छन् । ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो ।
त्यस्तै, पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा हवाई इन्धन र खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकको संख्या बढ्दा आन्तरिक र बाह्य दुवै हवाई उडान संख्या बढेको छ । जसले इन्धन खपत बढाएको हो ।
त्यसैगरी, पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो । सन् २०२३ मा मात्रै १० लाख बढी पर्यटक नेपाल आएका छन् ।
विदेशिने रकम भने घट्यो
चालु वर्षको पेट्रोलियक पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने घटेको छ । गत वर्ष ७ महिनामा इन्धन खरिदका लागि कुल १ खर्ब ७० अर्ब ४४ करोड रुपैयाँ विदेशिएको थियो भने चालु आवको सोही अवधिमा १ खर्ब ५९ अर्ब २० करोड बाहिरिएको छ ।
चालु वर्षमा इन्धन खरिदका लागि गत वर्षकोभन्दा ११ अर्ब रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियक पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो ।
गत वर्षको तुलनामा चालु वर्षमा विश्व बजारमा कच्चा तेलको भाउ १० प्रतिशतभन्दा धेरैले सस्तिएको छ । जसको फाइदा नेपाललाई पनि भएको हो ।
आयात बढ्दा सरकारलाई पौने ३ अर्ब फाइदा
पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकोले सरकारले पाउने राजस्व पनि बढेको हो ।
गत वर्षको तुलनामा चालु वर्षमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत २ अर्ब ७१ करोड रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष माघसम्म इन्धन आयातबापत सरकारले ५६ अर्ब ८८ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु वर्षको सोही अवधिमा ५९ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै २८ अर्ब २५ करोड, पेट्रोलबाट २१ अर्ब ९ करोड, हवाई इन्धनबाट १ अर्ब २४ करोड र खाना पकाउने एलपी ग्यासबाट ६ अर्ब २१ करोड राजस्व असुली गरेको छ ।