ट्रयाक खुलेको २९ वर्षपछि कोरोला-नवलपुर जोड्ने छोटो दूरीको सडक कालोपत्र सुरू

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रू २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए । रू ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रू १२ करोड २९ लाख ३२ हजार ३१६ मा कालोपत्रको ठेक्का पाएको थियो ।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाइ ७ मिटर रहनेछ । सडकमा ५ मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ ।

कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बढ्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारलाई पौने ३ अर्ब फाइदा Read Next

बढ्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारलाई पौने ३ अर्ब फाइदा