नेपाली बैंकिङ क्षेत्र सबल र सक्षम छ, भ्रामक अभिव्यक्तिकाे पछि नलागौं : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध पछिल्लो समय केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्र सबल र सक्षम रहको भन्दै सामाजिक सञ्जालमा आएका भ्रामक अभिव्यक्तिको पछि नलाग्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने व्यहोरा जानकारी गराएको हो ।

पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशन अनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताएको छ ।

बैंकिङ क्षेत्र अर्थ व्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नु आफ्नो जिम्मेवारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थले दियो १२ सडक आयोजनालाई २० अर्बको स्रोत सहमति, कुनलाई कति ? Read Previous

अर्थले दियो १२ सडक आयोजनालाई २० अर्बको स्रोत सहमति, कुनलाई कति ?

एमसीसीको ६ महिना : ठेक्का प्रक्रिया अनिश्चित, जग्गा प्राप्तिमा विलम्ब Read Next

एमसीसीको ६ महिना : ठेक्का प्रक्रिया अनिश्चित, जग्गा प्राप्तिमा विलम्ब