काठमाडौं । नेपाली नागरिकले अब भारतमा सहजै भारतीय सीमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी दिएका हुन् ।
भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचना अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने राजदूत शर्माले जानकारी दिएका छन् ।
‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो’ शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।’
यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब आफ्नै नामबाट सिमकार्ड पाउने भएसँगै लाखौं नेपाली लाभान्वित हुनेछन् ।
भारतको सञ्चार मन्त्रालयका अनुसार सो सिमकार्डको वैधता पनि १ महिनादेखि ३ महिनासम्म मात्र हुनेछ भने भारतभित्र मात्रै फोन गर्न मिल्ने छ ।