नेपाल पुनर्बीमा कम्पनीको ३६ लाख कित्ता सेयर लिलामीमा आउँदै, न्यूनतम मूल्य कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको झन्डै ३६ लाख कित्ता संस्थापक सेयर लिलामीमा आउने भएको छ ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र हाथवे इन्भेष्टमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा भएको सेयर बेच्न लागेका हुन् ।

यी कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेका हुन् । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई क्यापिटलले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बेच्न लागेका हुन् ।

त्यसैगरी, हाथवे इन्भेस्टमेन्टले आफ्नो नाममा रहेको पुनर्बीमा कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर बेच्ने भएको हो ।

चारै कम्पनीले लिलामीमा ल्याएको सेयरमा फागुन ८ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । उक्त लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीको आवेदन नपरे मात्र दोस्रो चरणमा सर्वसाधरणका लागि पुनः आवेदन खुला गरिनेछ ।

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।

बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिनेछ।

 

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध Read Previous

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा Read Next

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा