काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । प्याजको मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै गत सन् २०२३ डिसेम्बर ८ देखि लगाएको निर्यात प्रतिबन्ध हटाएको हो ।
केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को समितिले प्याज निर्यात खुला गरेको हो । सो बैठकले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको हो ।
यसअघि सरकारले २०२४ मार्च ३१ सम्म प्याज निकासीम प्रतिबन्धको घोषणा गरेको भए पनि सो समय अगावै निर्यात खुला गरेको हो ।
गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई ध्यानमा राखेर सरकारले यस्तो स्वीकृति दिएको हो । यसअघिका धेरै रिपोर्टहरूमा केन्द्र सरकारले प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने योजना बनाएको अनुमान गरिएको थियो। यसको मुख्य कारण प्याज उत्पादन गर्ने क्षेत्रमा प्याजलगायत तरकारीको मूल्य घटेको बताइएको छ ।
अब मन्त्रिपरिषदको केन्द्रीय समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै ३ लाख मेट्रिक टन प्याज निर्यात गर्न स्वीकृत गरेको छ । यससँगै बंगलादेशमा ५० हजार टन प्याज निर्यातको स्वीकृति पनि दिइएको छ ।
भारतले प्याज निर्यात खुलाएसँगै त्यसको सकारात्मक प्रभाव नेपाली बजारमा पनि पर्नेछ । आयात खुला भएसँगै नेपाली बजारमा प्याजको मूल्य केही सस्तिने सम्भावना छ । भारतले प्रतिबन्ध लगाउने बित्तिकै नेपालमा प्याजको भाउ ४ गुणाले बढेर प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको थियो । पछि चीनबाट आयात हुन थालेपछि फेरि भाउ घटेको थियो ।