सेयर बजारमा नयाँ लगानीकर्ता कसरी प्रवेश गर्ने

काठमाडौं । सेयर बजारले पछिल्ला केही दिन देखि सकारात्मक संकेत देखाउन थालेको छ । लामो समयसम्म घटेर अहिले केही सकारात्मक संकेत देखाउँदा नयाँ लगानीकर्ताहरु बजार पस्ने संभावना बढ्नेछ ।

 

यहाँ नयाँ लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा के हो भने सेयर बजारमा राम्रो समयपछि नराम्रो र नराम्रो समयपछि राम्रो समय आउनु अवश्यमंभावी हुन्छ ।

 

अघिल्लो बुल रनमा (राम्रो समय) बजार पसेकाहरुले एकदमै नराम्रो समयमा सामना गर्नु पर्यो भने अहिलेको नराम्रो समयमा बजार पस्नेहरुले राम्रो समयको स्वाद चाख्न अवश्य पनि पाउनेछन् ।

 

यो त भयो सामान्य सैद्धान्तिक कुरा । अब, बजार पस्ने सोच बनाएका नयाँ लगानीकर्ताहरुले व्यवहारिक रुपमा कसरी बजार पस्ने त ? भन्ने विषयमा यहाँ केही चर्चा गरिनेछ ।

 

नेपालमा एउटा समस्या के छ भने विद्यालय वा कलेजहरुमा सेयर बजारका बारेमा व्यवहारिक ज्ञानका बारेमा खासै अध्यापन गराईंदैन । मानिसहरुले सेयर बजारका बारमा सिक्ने ठाउँ सिमित छन् । मिडियाहरुमा झुल्कने ‘विश्लेषकहरु’का विचारमा उनीहरुका आग्रह र पूर्वाग्रह प्रतिविम्वित हुन्छन् ।

 

यी समस्याका बावजूद एकदमै नयाँ लगानीकर्ताले बजार पस्नुअघि गर्नुपर्ने सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको यो बजारका बारेमा सके जति सूचना बटुल्नु हो । जहाँ बाट हुन्छ त्यहाँ बाट धेरै भन्दा धेरै सूचना बटुल्ने, कुनै नयाँ व्यापार शुरु गर्दा मानिसहरुले उक्त व्यापारको बारेमा सूचना बटुले जस्तै । मिडिया, युट्युब भिडियो आदिबाट सूचना बटुल्न सकिन्छ । केही सामान्य तालिम पनि लिन सकिन्छ ।

 

यदि नयाँ लगानीकर्ताको आफ्नो पेशा वा आम्दानीको स्रोत छ र यसो अलिअलि भएको बचत सेयर बजारमा लगानी गर्ने सोच हो भने खासै टाउको दुखाउनु पर्ने कारण छैन । सामान्य अध्ययन गर्ने , आफूले बुझन्े ब्यवसाय गरिरहेको ‘सेक्टर’को कम्पनी छान्ने र आफ्नो बचतको एक हिस्सा लगानी गर्ने ।

 

यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने आफूले नबुझ्ने व्यवसाय छ भने लगानी नगर्नुहोस् । उदाहरणको लागि तपाईंलाई बीमा कम्पनीको व्यवसायको प्रकृति, वित्तीय विवरण आदि बुझ्नुहुन्न भने त्यो क्षेत्रमा लगानी नगर्नुहोस् । बैंक बुझ्नुहुन्छ भने बैंकमा गर्नुहोस् । अघिल्लो बुल रनमा बजार पसेका धेरै लगानीकर्ताले आफूले लगानी गर्ने कम्पनीको व्यवसायको प्रकृति नबुझेको हुनाले पैसा गुमाएका हुन् ।

 

यसरी लगानी गरेपछि तपाईंलाई सेयर बजारको बारेमा धेरै जानकारी आफैं हुनथाल्छ । बजार नपस्दा सिक्न धेरै समय लाग्छ भने बजार पसिसकेपछि सिकाईले गति लिन्छ । पैसा लगाइसकेपछि मान्छेको सेयरबजार तर्फ धेरै ध्यान जाने हुँदा ज्ञान पनि बढ्दै जान्छ । त्यसपछि आफ्नो लगानीको हिस्सा बढाउँदै लैजाँदा जोखिम कम हुन्छ ।

 

अब जसलाई पूर्णकालीन रुपमा सेयर बजारमा छिरेर दैनिक रुपमा ट्रेडिङ समेत गर्नुछ उनीहरुको कुरा गरौं । यस्तो योजना भएका लगानीकर्ताहरुले चाँही सेयर बजारको बारेमा धेरै भन्दा धेरै ज्ञान पहिल्यै लिनु अनिवार्य हुन्छ । यसका लागि कोर्स गर्ने, समिनार इत्यादिमा भाग लिने, वर्कशपमा जाने, किताब पढ्ने, लेखहरु पढ्ने गर्नै पर्छ ।

 

कम्तीमा ६ महिना सेयर बजारको बारेमा सिक्नका लागि आफ्नो समय खर्चिनुहोस् । त्यसपछि थोरै लगानी गर्नुहोस् र आफ्नो आत्मविश्वास बढाउँदै लैजानुहोस् । जसै आत्मविश्वास बढ्नै जान्छ, व्यवहारिक ज्ञान थपिदैं जान्छ, लगानी बढाउँदै लैजानुस् ।

 

कुरा गाडी चलाउन सिके जस्तै हो । सिक्ने बेलामा विस्तारै गाडी चलाइन्छ । शुरुमा अवश्य पनि एकदुई ठाउँमा ठोक्किइहाल्छ । तर, ठोक्किएपनि चोट नलाग्ने गरि विस्तारै चालाइन्छ । सेयर बजारमा पनि ठोक्किनु, लड्नु अनिवार्य छ । रातारात करोडपति बन्न सम्भव छैन । अरुको हेरेर लाभिने कुरा हुँदैन । प्रतिशतमा कमाउने प्रयास गर्नुहोस्, गुणामा होइन ।

 

सेयर बजारमा पैसा कमाउनका लागि २-३ वर्ष कम्तीमा लाग्छ भनेर आफूलाई मनोवैज्ञानिक रुपमा तयार पार्नुस् । र, त्यतिबेलासम्म टिक्ने र सिक्ने योजना बनाउनुस् । कमाउने त्यसपछि हो ।

 

शुरुमै कमाउने तर्फ लाग्दा झुक्केर कमाइहाले पनि फेरी पछि त्यो भन्दा धेरै गुमाउने संभावना धेरै हुन्छ, जुवामा जस्तै । सेयर बजार जुवाको खाल होइन । स्पष्ट आर्थिक अवधारणामा आधारित बजार हो ।

 

सेयर बजारमा सम्पत्ति कमाइन्छ । यसले तपाईंलाई राम्रो फल दिन्छ । तर, यसका लागि तपाईंले सिक्नु पर्छ, बजारलाई सम्मान गर्नुपर्छ र यसको प्रणालीलाई बुझ्नुपर्छ ।

टोखामा बन्ने स्मार्ट सिटीको डीपीआर अन्तिम चरणमा Read Previous

टोखामा बन्ने स्मार्ट सिटीको डीपीआर अन्तिम चरणमा

आइएमई लाइफको साधारण सभा सम्पन्न, ६० करोडको आइपीओ ल्याउने Read Next

आइएमई लाइफको साधारण सभा सम्पन्न, ६० करोडको आइपीओ ल्याउने