टोखामा बन्ने स्मार्ट सिटीको डीपीआर अन्तिम चरणमा

काठमाडौं । टोखामा बन्ने नयाँ सहर (स्मार्ट सिटी) को डीपीआर माघ महिनासम्ममा पूरा हुने भएकाे छ । उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशव न्यौपानेका अनुसार यही माघ महिना भित्र डीपीआर पूरा हुने छ।

 

टोखामा बन्ने नयाँ सहरको डीपीआर ढिला सुरु भएकाले उक्त डीपीआर पूरा हुन समय लागेको उनले बताए ।‘टोखाको नयाँ डीपीआर बन्न ढिला सुरु गरिएकाले डीपीआर पूरा हुन समय लागेको हो, यो पनि समयमै पूरा हुन्छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।

 

काठमाडौ उत्तर तर्फ पर्ने उक्त नयाँ सहर १० हजार रोपनी क्षेत्रफलमा रहेको छ । सो नयाँ सहरले पूर्वमा सामाखुसी, टोखा रोड हुदै बाइपास पुग्नेछ भने पश्चिममा काभ्रेस्थली बाईपास जाने मूल सडकसम्म जोडिने छ ।

 

उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर नयाँ सहर जोडिने छ । दक्षिण तर्फ ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मूल सडकको पुलसम्मलाई नयाँ सहरको रुपमा निर्माण गरिनेछ ।

 

नयाँ सहरलाई सेवा सुविधाको विस्तार गरि नयाँ सहरका रुपमा विस्तार गरिन लागेको हो । नयाँ सहरको निर्माणपछि अव्यवस्थित बसोबास व्यवस्थित बन्ने प्राधिकरणको दाबी छ ।

 

स्मार्ट सिटीमा सर्वसाधरणको हाल भएको जग्गाको ३० प्रतिशत क्षेत्रफल जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने छ । भने बाँकी १० प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ ।

 

ल्याण्ड पुलिङमा लिएर जग्गाको विकास गरेर सम्बन्धित जग्गाधनीलाई नै उपयोग गर्न दिने भएकाले यस आयोजनामा मुआब्जा दिनुपर्ने छैन ।

 

स्मार्ट सीटी क्षेत्रभित्र पर्ने जग्गालाई हरेक ठाउँमा ४ आनाको प्लटिङ गरिनेछ । नयाँ सहरमा न्यूनतम् ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् ।

 

नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलिस स्टेसन, स्कूल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

 

हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । डीपीआर बनाउने क्रममा १ लाख रोपनीको नयाँ सहरको लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । १० हजार रोपनीका अन्य दुई नयाँ सहरको डीपीआर निर्माणका लागि ३/३ करोड रुपैयाँ खर्च भएको छ ।

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह Read Previous

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह

सेयर बजारमा नयाँ लगानीकर्ता कसरी प्रवेश गर्ने Read Next

सेयर बजारमा नयाँ लगानीकर्ता कसरी प्रवेश गर्ने