लघुवित्तको खराब कर्जा १८% सम्म पुग्यो, २६ वटाको सीमा नाघ्यो, कुनको कति ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ह्वात्तै बढेको छ । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको चालु आव २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा औसतमा झन्डै २ प्रतिशतले बढेको हो ।

हाल संचालनमा रहेका ५५ मध्ये (आइतबारसम्म) ५३ लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये गत वर्षको तुलनामा ४६ लघुवित्तको खराब कर्जा बढेको छ । समीक्षा ७ लघुवित्तको मात्रै खराब कर्जा घटेको छ ।

चालु वर्षको पुस मसान्तसम्म लघुवित्तहरूको औसत खराब कर्जा ६.४० प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत विन्दुले धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म लघुवित्तहरूको औसत खराब कर्जा ४.५२ प्रतिशत थियो ।

लगानी भएको कर्जा असुल हुन नसकेपछि लघुवित्तको खराब कर्जा ह्वात्तै बढेको हो । पछिल्लो समय अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउनु, लघुवित्त संस्थाविरुद्ध भएको अराजक गतिविधि, कर्जा लगानीमा नेपाल राष्ट्र बैंकको कडाइ लगायत कारणले खराब कर्जा ह्वात्तै बढेको हो ।

कम्पनीहरूको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो । समीक्षा अवधिमा २ दर्जन लघुवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकको सीमा माथि अर्थात् ५ प्रतिशत बढी रहेको छ । खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्नसक्छ । त्यस्तो कारबाहीमा पर्ने संस्थालाई राष्ट्र बैंकले शाखा विस्तारसँगै व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ । 

समीक्षा अवधिमा अधिकांश लघुवित्तको नाफा घटेको छ भने ११ वटा घाटामा गएका छन् । व्यवसाय विस्तार गर्न नसक्दा र खराब कर्जा बढ्न गई प्रोभिजनका लागि ठूलो रकम छुट्याउनु परेकाले लघुवित्तहरूको नाफामा ठूलो असर परेको हो ।

आधा लघुवित्तको खराब कर्जा सीमा माथि

समीक्षा अवधिमा आधा लघवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा माथि पुगेको छ । अर्थात् खराब कर्जा ५ प्रतिशत माथि पुगेको छ ।

५३ मध्ये २६ लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि पुगेको हो । त्यसमा ६ वटाको १० प्रतिशत माथि छ । जसमा श्रृजनशील लघुवित्तको सबैभन्दा धेरै १८.१४ प्रतिशत पुगेको छ ।

त्यसैगरी, एनआइसी एशिया लघुवित्तको १३.७६ प्रतिशत, नेष्डो समृद्धिको ११.९७ प्रतिशत, निर्धन उत्थानको ११.७० प्रतिशत, स्वाबलम्बनको ११.३६ प्रतिशत र डिप्रोक्स लघुवित्तको १०ं४१ प्रतिशत पुगेको छ । त्यस्तै, नेरुडे, युनिक नेपाल र लक्ष्मी लघुवित्तको खराब कर्जा ९ देखि १० प्रतिशतको बीचमा छ ।

समीक्षा अवधिमा २७ लघुव्त्तिको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ । जसमा सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा कम १.५२ प्रतिशत छ । त्यस्तै, थोरै खराब कर्जा हुनेमा आरएसडीसी १.८२ प्रतिशत, साना किसान २ प्रतिशत, उपकार २.८२ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स २.८७ र छिमेक लघुवित्तको २.९५ प्रतिशत छ । बाँकी सबै लघुवित्तको खराब कर्जा ३ प्रतिशत माथि ।

आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ : व्यवसायी Read Previous

आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ : व्यवसायी

शिखर इन्स्योरेन्सका सेयरधनीको पनि हात रित्तै, यस वर्ष लाभांश नदिने Read Next

शिखर इन्स्योरेन्सका सेयरधनीको पनि हात रित्तै, यस वर्ष लाभांश नदिने