जीवन बीमा कम्पनीको नाफा ५२ करोड बढ्यो, २ वटाकाे भने घट्याे, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूको खुद नाफामा सुधार आएको छ । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा घट्दा जीवन बीमा कम्पनीहरू भने नाफा बढाउन सफल भएका हुन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २०.५२ प्रतिशतले बढेको छ ।

हाल संचालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु वर्षको पुस मसान्तसम्म कम्पनीले कुल ३ अर्ब ०८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५२ करोड ५१ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म कुल २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय प्रभावित भए पनि बीमा कम्पनीहरूको भने बढेको हो । कोभिडपछि शिथिल बनेको बीमा व्यवसाय पछिल्लो समय सुधार हुँदै गएको छ । यसले कम्पनीहरूके आम्दानी बढाएको छ ।

त्यस्तै, विगतमा निक्षेपको ब्याजदर बढ्दा पनि बीमा कम्पनीहरूको नाफामा सकारात्मक प्रभाव परेको हो । बीमा कम्पनीहरूले अधिकांश रकम मुद्दती निक्षेपमा राख्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु वर्षको असोजदेखि निक्षेपको ब्याजदर घटाए पनि सोभन्दा अघि बढेको थियो । विगतमा महँगो ब्याजमा पैसा निक्षेपमा राखेकाले अहिले पनि ब्याजबाट प्राप्त हुने आम्दानी बढेको हो ।

१२ कम्पनीको नाफा बढ्यो, २ वटाको मात्र घट्यो

समीक्षा अवधिमा १४ मध्ये १२ जीवन बीमा कम्पनीको खुद नाफा बढेको छ भने २ वटाको मात्र घटेको छ । यस अवधिमा हिमालयन लाइफ र सन नेपाल लाइफको मात्र नाफा घटेको हो ।

पुससम्म सानिका रिलायन्स लाइफको नाफा सर्वाधिक ९६.४८ प्रतिशतले बढेको छ । त्यस्तै, आइएमई लाइफको ९६.१४ प्रतिशत, सूर्यज्योति लाइफको ६२.९३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५९.७९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा हिमालयन लाइफको नाफा ८.२४ प्रतिशत र सन नेपाल लाइफको ७.२२ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ बन्यो धेरै कमाउने

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा १२.९० प्रतिशतले नाफा बढाएको नेपाल लाइफले पुससम्म ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, नेपाल लाइफलाई पछ्याएको हिमालयन लाइफले ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । पुससम्म सन नेपाल लाइफले ३२ करोड ८४ लाख, नेशनल लाइफले २५ करोड ५१ लाख, सूर्यज्योतिले २३ करोड ६६ लाख, आइएमई लाइफले २३ करोड ४७ लाख, रिलायबल लाइफले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएक छन् ।

त्यसैगरी, सानिमा रिलायन्सले २१ करोड ९७ लाख, मेट लाइफले १९ करोड ३८ लाख, प्रभु महालक्ष्मीले १७ करोड ६४ लाख, एशियन लाइफले १५ करोड ९८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १३ करोड ६६ लाख र सिटिजन लाइफले १२ करोड ३६ लाख नाफा कमाएका छन् ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

सरकारी प्रक्रियाले विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण पछि धकेलिँदै Read Previous

सरकारी प्रक्रियाले विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण पछि धकेलिँदै

क्लासिक टेकले एकैपटक माग्यो ३०० कर्मचारी Read Next

क्लासिक टेकले एकैपटक माग्यो ३०० कर्मचारी