प्रतिकित्ता सेयर मूल्य ९ हजार माथि रहेका बोटलर्स नेपालका दुवै कम्पनी घाटामा

काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनी घाटामा गएका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानीमा गएका हुन् ।

चितवनमा प्लान्ट सञ्चालन गरिरहेको बोटलर्स नेपाल (तराई) चालु आवको पुससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा छ । जबकि गत वर्ष सोही अवधिमा १५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक मन्दीका कारण कुल आम्दानी घट्दा र वित्तीय लागत बढ्दा कम्पनी घाटामा गएको हो । साथै, कच्चा पदार्थको मूल्य वृद्धि, बिक्रीवितरण लागत बढेकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २२ करोड घटेर ३ अर्ब ६८ करोड रुपैयाँ मा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८६ करोड थियो । यस्तै, वित्तीय खर्च ११ करोड ३७ लाखबाट बढेर १४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ संचित छ ।

घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष प्रीतसेयर आम्दानी २५३ रुपैयाँ रहेको कम्पनीको चालु वर्षमा १२३ रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने बढेर ३ हजार १७३ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल तराईको मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता १२ हजार ११ रुपैयाँ छ ।

यस्तै, काठमाडौंको बालाजुमा प्लान्ट संचालन गरिरहेको बोटलर्स नेपाल बालाजुले चालु आवको ६ महिनामा १५ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । जबकि गत वर्ष यही अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो ।

यसको पनि बिक्री आम्दानी घट्दा र वित्तीय लागत बढ्ना नोक्सानीमा गएको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६१ करोड रुपैयाँ घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, वित्तीय लागत दोब्बरले बढेर १५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । हाल १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीके जगेडा कोषमा ५ अर्ब ५२ करोड रुपैयाँ संचित छ ।

कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २८५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९ हजार ३११ रुपैयाँ छ ।

 

सरकारले आगामी वर्ष १८ खर्बको बजेट ल्याउने Read Previous

सरकारले आगामी वर्ष १८ खर्बको बजेट ल्याउने

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत उडान गर्दै Read Next

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत उडान गर्दै