ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने छोटो दूरीको सडक

तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर-डेडगाउँ-बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो ।

ट्रयाक खुलेको २९ वर्षपछि यो खण्डमा कालोपत्र हुन लागेको हो । पूर्वाधार विकास कार्यालय तनहुँले यही फागुन ७ गतेदेखि अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र गर्न लागेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा फागुन ७ गतेदेखि २२ गतेसम्म सडक बन्द गरी कालोपत्र गर्न लागिएको हो ।

‘तनहुँको घिरिङ गाउँपालिकास्थित मानपुरदेखि डेडगाउँसम्म सडक कालोपत्रका लागि बेस राख्ने काम भएको छ,’ आचार्यले भने, ‘उक्त अवधिमा सडक बन्द गरी काम हुनेछ ।’ यो खण्ड भई सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा उक्त मार्ग कालोपत्र हुन लागेको आचार्यले जानकारी दिए ।

रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो ।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारीले गर्दा भएको लकडाउनको असरका कारण काम सुरु हुन सकेको थिएन ।

तनहुँको घिरिङ–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले हिमाल र तराईलाई जोड्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा उक्त खण्डलाई सूचीकृत गरेको बताए । उनले भने, ‘भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यस बाटो कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ ।’

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उक्त सडक कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्ने बताए । उनले भने, ‘पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गको रुपमा रहेको यस खण्ड कालोपत्र भएपछि विभिन्न जिल्लाका हजारौँ नागरिक लाभान्वित हुन्छन् । यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार पनि हो ।रासस

 

सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत आइपीओ बिकेन, अब सर्वसाधरणलाई बेच्ने Read Previous

सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत आइपीओ बिकेन, अब सर्वसाधरणलाई बेच्ने

नेप्सेमा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत