सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत आइपीओ बिकेन, अब सर्वसाधरणलाई बेच्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले खानी तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरेको ७३ प्रतिशत प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री हुन नसकेको पाइएको छ ।

कम्पनीले पुस २५ देखि माघ १० गतेसम्म उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्र नवलपरासी र पाल्पाका स्थानीयका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले कुल ९ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सो अवधिमा सेयर नबिकेपछि माघ २५ गतेसम्म म्याद थपिएको थियो । थपिएको समयमा पनि करिब २७ प्रतिशत मात्रै सेयर बिकेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बुधबार स्थानीयलाई जारी गरेका आइपीओ बाँडफाँट गरेको छ । क्यापिटलका अनुसार कम्पनीको कुल ९ लाख ३० हजार कित्तामध्ये २ लाख ४८ हजार ५०३ कित्ता सेयर मात्रै बिक्री भएको छ । यो कुल आइपीओको २६.७२ प्रतिशत मात्रै हो । १ हजार २२४ जना स्थानीयले ५० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

कम्पनीको ७३.२८ प्रतिशत अर्थात् ६ लाख ८१ हजार ४९७ कित्ता सेयर बिक्री हुन सकेन । यद्यपि, कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि जारी गरेको २ लाख ६७ हजार कित्ता सेयर भने सबै बिकेको थियो ।

यसअघि घोराही र सोनापुर सिमेन्ट पनि स्थानीयलाई जारी गरेको आइपीओ सबै बिक्री भएको थिएन । घोराहीको आइपीओ त म्युचुअल फण्डले समेत किनेका थिएनन् ।

आखिर किन बिकेन त आइपीओ ?

कम्पनीको सेयर नबिक्नुको मुख्य ३ कारण देखिएका छन् । सेयर मूल्य महँगो भन्दै स्थानीयले बहिष्कार गर्नु, कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा आशंक हुनु र लगानीकर्तासँग पैसा नहुँदा सेयर बिक्न नसकेको सेयर बजारका जानकार बताउँछन् ।

स्थानीयले अंकित मूल्य १०० रुपैयाँमा सेयर दिनुपर्ने माग गरेका थिए । तर, उद्योगले प्रिमियम मूल्यमै सेयर बिक्रीमा ल्याएपछि स्थानीयले महँगो भन्दै कम्पनीको आइपीओ बहिष्कार गरेकाले सबै सेयर बिक्री हुन नसकेको हो ।

स्थानीयले सर्वोत्तमको सेयर मूल्य महँगो भएको भन्दै आइपीओ प्रक्रिया नै रोक्न माग गर्दै स्थानीले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयमा समेत आवेदन दिएका थिए ।

त्यस्तै, यसअघि प्रिमियममा आइपीओ जारी गरेका घोराही र सोनापुरले पनि आइपीओ जारी गर्नु अघि र हालै प्रकाशित गरेको वित्तीय विवरणमा ‘आकाश-पताल’को फरक देखिएको छ । त्यस्तै, सर्वोत्तमले पनि सेयर बिकाउन बढाइचढाइ विवरण सार्वजनिक गरेको स्थानीयले आशंका गरेका छन् । त्यसैले सेयर किन्न चासो देखाएनन् ।

त्यसैगरी, सर्वोत्तमले नेपालकै पहिलोपटक बुकबिल्डिङ विधिबाट आइपीओ जारी गरेको हो । बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपदर्छ । यस अनुसार सर्वोत्तमको आइपीओ भर्न १८ हजार ४५ रुपैयाँ चाहिन्छ । आइपीओ भर्न धेरै पैसा चाहिले भएकाले पनि सेयर बिक्न नसकेको हो ।

पछिल्लो समय वित्तीय विवरण बलिया भएका कम्पनीको सेयर सर्वोत्तमकोभन्दा सस्तोमै पाइने अवस्था छ । त्यसो हुँदा पनि केही स्थानीयले सर्वोत्तमको सेयर किन्न आँट नगरेको देखिन्छ ।

पछिल्लो समय आइपीओ भनेपछि लगानीकर्ताले मरिहत्ते गर्ने गरेका छन् । मागभन्दा कयौं गुणा बढी आवेदन पर्दै आएको छ । तर, सर्वोत्तमको आइपीओ भने एक चौथाई मात्रै बिकेको छ । यसले लगानीकर्ता कम्पनीको सेयरप्रति आकर्षित हुन नसकेको देखिन्छ ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

नबिकेको सेयर सर्वसाधरणलाई बेचिने

कम्पनीले यसअघि नबिकेको सेयर अब सर्वसाधरणलाई बेच्न भएको छ । पहिलो चरणमा नबिकेको कुल ६ लाख ८१ हजार ५३० कित्ता सेयर अब दोस्रो चरणमा सर्वसाधरणलाई बेच्ने भएको हो ।

कम्पनीले सर्वसाधरणलाई पनि १०० रुपैयाँ अंकित मूल्यमा २६०.९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३६०.९ रुपैयाँदरले आइपीओ बेच्ने भएको हो ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

 

फाइनान्सको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

फाइनान्सको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने छोटो दूरीको सडक Read Next

ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने छोटो दूरीको सडक