काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । हिजो एकैदिन ३० अंकले घटेको नेप्से आज ५ अंकले फर्केको छ ।
सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४१ करोड घटेर ४ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको छ । यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक बढको छ भने ६ को घटेको छ । आज फाइनान्स समूहको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १७ लाख रुपैयाँको २ लाख ५५ हजार ९८७ कित्ता सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।नेपाल फाइनान्स, पाँचथर पावर र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, समाज लघुवित्त र जोही हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।