काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् घाटामा गएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा छ ।
यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको छ । गत वर्ष पुससम्म तामाकोशी ८२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो ।
विद्युत् बिक्री आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा नोक्सानीमा गएको हो । मूल्यह्रास कट्टा गर्दा, रोयल्टी खर्च र प्रशासनिक खर्च बढ्दा कम्पनी नोक्सानीमा गएको हो ।
समीक्षा अवधिमा कम्पनीले बिजुली बेचेर ५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँको बिजुली बेचेको थियो ।
समीक्षा अवधिमा कम्पनीके वित्तीय खर्च ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
हाल १९ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ छ ।