काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेकोन चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.०७ प्रतिशतले बढेको छ ।
चालु आवको पुस मसान्तसम्म कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेकाे हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १२.०७ प्रतिशतले बढेर ४५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी भने ७८.९४ प्रतिशतले बढेर ७६ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको पनि खर्च २६.४३ प्रतिशत बढेर १३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.४८ रुपैयाँ बढेर ८.२० रुपैयाँ (वार्षिक) पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १११.७९ गुणा छ ।