विगतका सहमति र सहकार्य नभुलौं : चन्द्रप्रसाद ढकालको विचार

अहिले देशको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश नेपालको औद्योगिक क्षेत्रले गरेको छ ।

 

औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा आउने सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दिगो वनाउन सक्छ । यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास समग्र निजी क्षेत्रले लिएको छ । यस्ता सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन अझै सहकार्य गर्नुपर्ने अवस्था विद्यमान रहेको छ ।

 

रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । त्यसको लागि निजी क्षेत्रले त्यही रुपको व्यवहार गरिरहेको छ ।

 

श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेकोले अहिले यी महत्वपूर्ण कानुन कार्यान्वयनको चरणमा रहेको हो ।

 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि बढ्दा त्यसले दुबै पक्षलाई फाइदा पुग्ने छ ।

 

श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आईपुगेको र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजान सम्बन्धीत सबै सरोकारवालाहरुको बलियो सम्बन्ध हुन जरुरी छ ।

 

निजी क्षेत्र असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्यमा जोड दिँदै आएको विषय सबै सामू रहेको छ । श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक पर्छ त्यहाँ बसेर छलफल गर्नु पर्छ । त्यसको लागि निजी क्षेत्र सधैँ तयार रहेको छ ।

 

साथै, भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने सरकारसँग निजी क्षेत्रले सधै काम गरिरहेको छ । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नबिर्सेकोले त्यसलाई कार्यान्वयनमा लान ढिला गर्नु हुँदैन ।

 

परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुँदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढीभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुनु आवश्यक छ ।

 

(राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल)

धर्ना फिर्ता लिएर अवार्ड वितरण गर्दै निर्माण व्यवसायी Read Previous

धर्ना फिर्ता लिएर अवार्ड वितरण गर्दै निर्माण व्यवसायी

सहकारीलाई फोर्स मर्जरमा लगिँदै, साढे १८ सयबाट घटाएर ७ सयमा झारिने Read Next

सहकारीलाई फोर्स मर्जरमा लगिँदै, साढे १८ सयबाट घटाएर ७ सयमा झारिने