डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

काठमाडौं । अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुससम्म)को तथ्यांक अनुसार डलर संचिति १३ अर्ब ६९ करोड पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो । यसअघि २०२३ को डिसेम्बरमा १३ अर्ब ३० डलर संचिति करोड थियो । गत असारको तुलनामा चालु वर्षमा डलर संचिति १९.९ प्रतिशतले बढेको हो ।

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट ३९ करोड डलर थपिएको ।

डलर संचिति बढेको यो लगातार पन्ध्रौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड र मंसिरमा ५५ करोड डलर थपिएको छ ।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

यस्तै, विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । राष्ट्र बैंकका अनुसार पुससम्म विदेशी मुद्रा संचिति १८ खर्ब १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यो पनि इतिहासकै धेरै हो ।

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १८ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रु.१६०० अर्ब २३ करोड र रु.२१६ अर्ब ३५ करोड रुपैयाँ छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

भएका जहाज थन्क्याएर दुई जहाज भाडामा ल्याउँदै निगम, ग्लाेबल टेन्डर आह्वान Read Previous

भएका जहाज थन्क्याएर दुई जहाज भाडामा ल्याउँदै निगम, ग्लाेबल टेन्डर आह्वान

'निकै' मजबुत अवस्थामा अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य १० सूचक Read Next

'निकै' मजबुत अवस्थामा अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य १० सूचक