भएका जहाज थन्क्याएर दुई जहाज भाडामा ल्याउँदै निगम, ग्लाेबल टेन्डर आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) दुई वटा न्यारोबडी जहाज भाडामा ल्याउने भएकाे छ ।  निगमले मंगलबार एक सूचना जारी गर्दै दुई न्यारोवडी जहाज ‘वेट लिज’मा लिन ग्लोबल टेन्डर आह्वान गरेको हो ।

निगमलाई जहाज उपलब्ध गराउन इच्छुक कम्पनीले मार्च २२ (चैत ९ गते) भित्र आवेदन दिनुपर्नेछ । भाडामा जहाज उपलब्ध गराउने कम्पनी, जहाज उत्पादक र एयरलाइन्स कम्पनीहरूले आवेदन दिनसक्ने निगमले जनाएको छ ।

जहाज दैनिक न्यूनतम ७ घण्टा अर्थात् मासिक ३१० घण्टा (ब्लक आवर) उडाउन मिल्ने खालको हुनुपर्नेछ । त्यस्तै, जहाजमा कम्तीमा पनि १५० वटा इकोनोमी क्लास सिट, सिटमा इनफ्लाइट इन्टरटेनमेन्ट (आइएफई) र वाइफाइ सुविधा भएको हुनुपर्नेछ ।

निगमका अनुसार आवेदकले ६ महिना (जुलाइ २०२४) भित्र जहाज उपलब्ध गराउनुपर्ने छ । निगमले कम्तीमा १ वर्षका लागि जहाज भाडामा लिन लागेको हो । त्यसपछि आपसी समझदारीमा समय थप गरिने निगमले जनाएको छ ।

निगमले आफूसँग भएका जहाज ग्राउन्डेड गरेर भाडामा ल्याउन लागेको हो । भएकै जहाज मर्मत गरी संचालन गर्नुको सट्टा कमिसनका लागि भाडामा जहाज ल्याउन लागेको आशंका गरिएको छ ।

निगम अहिले यसअघि जहाज खरिद गर्न लिएको ऋण तिर्न नसकेर थलिएको छ । कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको नियमित साँवाब्याज तिर्न सकेको छैन् ।निगमले तिर्नुपर्ने ऋण ५० अर्ब रुपैयाँ पुगिसकेको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी र दुई वटा न्यारो बडी जहाज छन् । वाइडबडी नियमित उडिहरेका भए पनि न्यारोबडी जहाज ग्राउन्डेड छन् ।

भएकै जहाज उडाउन नसक्ने, लिएको ऋण तिर्न नसक्ने तर, कमिसनका लागि निगमलाई धरासायी बनाउन भाडामा जहाज ल्याउने प्रपञ्च रचिएको जानकारहरू बताउँछन् ।

 

 

कामले गति नलिएपछि धुलिखेल-खावा सडकको ठेक्का तोडिँदै Read Previous

कामले गति नलिएपछि धुलिखेल-खावा सडकको ठेक्का तोडिँदै

डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने Read Next

डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने