काठमाडौं । बैंकहरुसँगै अन्य कम्पनीलाई पनि ब्रोकर (धितोपत्र दलाल व्यवसाय गर्ने अधिकार) लाइसेन्स खुल्ला गरिने भएको छ ।
बैंकलाई मात्र ब्रोकर लाईसेन्स दिने चर्चा चुलिएको समयमा कुनै क्षेत्र वा संघ/संस्थालाई मात्र लाईसेन्स खुल्ला नगरि सबैलाई खुल्ला गर्ने तयारी नेप्सेले गरेको हो ।
बैंकको छुट्टै सहायक कम्पनी स्थापना गरेर त्यसलाई लाईसेन्स दिने कुरा अगाडि बढीरहेको छ । जुन कम्पनीमा सम्बन्धीत बैंकको कम्तीमा ५१ प्रतिशत सेयर अनिर्वाय हुनु पर्ने भनिएको छ ।
पहिला भौगोलिक र क्षेत्रगत आधारमा आवश्यकताको निक्यौल गरिसकेपछि मात्र बैंक तथा अन्य कम्पनीलाई ब्रोकर लाईसेन्सको आवेदन खुल्ला गरिने छ ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर लाईसेन्स चाहने बैंकले नेपाल राष्ट्र बैंकबाट अनिर्वाय रुपमा स्वीकृति ल्याउनु पर्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया, बैंक अफ काठमाण्डू, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।
त्यस्तै सिभील बैंक, नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक,माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंकले ब्रोकर लाइसेन्स लिएर काम गर्न स्वीकृतिको लागि आवेदन दिएर बसेका छन् ।
‘अब दिइने लाईसेन्स प्रादेशिक र भौगोलिक क्षेत्रलाई आधार बनाएर दिइन्छ । बैंकलाई मात्रै लाईसेन्स दिने भन्ने कुरा हुँदै होइन’, नेपाल स्टक एक्चेन्जका महाप्रबन्धक चन्द्रसिंह साउदले चाणक्य पोष्टसँग भने ।
साउदका अनुसार पहिला भौगोलिक र क्षेत्रगत आधारमा आवश्यकताको निक्यौल गरिसकेपछि मात्र बैंक तथा अन्य कम्पनीलाई ब्रोकर लाईसेन्सको आवेदन खुल्ला गरिने छ ।
‘योग्यता पुगेका बैंकका सहायक कम्पनी तथा अन्य कम्पनीहरुले समेत लाइसेन्सका लागि आवेदन दिन सक्ने छन् । बैंकलाई मात्र लाइसेन्स दिने कुुरा गलत हो । लाइसेन्स दिनका लागि बैंकलाई मात्र विशेष सहुलियत दिइने छैन’, साउदले भने ।