काठमाडौं । आर्थिक मन्दीका कारण नयाँ व्यवसाय बढाउन नसकेका जीवन बीमा कम्पनीहरूलाई बढ्दो पोलिसी सरेन्डर (बीमालेख समर्पण) चिन्ताको विषय बन्दै गएको छ ।
नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी पनि धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको हो ।
यसअघि बीमा गरेका बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गरेका हुन् । चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा बीमालेख सरेन्डर २१.५ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु वर्षको (साउन-पुससम्म) १४ जीवन बीमा कम्पनीका ५३ हजार ११३ वटा पोलिसी सरेन्डर भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९ हजार ४०३ वटा धेरै हो । गत वर्षको पुससम्म ४३ हजार ७१० वटा बीमालेख सरेन्डर भएका थिए ।
रकममा आधारमा पुससम्म ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।
आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रुपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
कुनको कति पोलिसी सरेन्डर ?
चालु वर्षको ६ महिनामा सबैभन्दा ठूलो धक्का नेपाल लाइफ इन्स्योरेन्सलाई लागेको छ । कुल जीवन बीमा व्यवसायमा एक्चौथाई हिस्सा रहेको यस कम्पनीको पुससम्म सर्वाधिक १५ हजार ४७ जनाले पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको २८.३३ प्रतिशत बराबर हो । पुससम्ममा नेपाल लाइफमा २ अर्ब ३४ करोड रुपैयाँको पोलेसी सरेण्डर भएको प्राधिकरणको तथ्यांक छ ।
समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेस नेपाल (एलआइसी)को १ अर्ब ३९ करोड रुपैयाँ बढीको १० हजार १२४ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको ५८ करोड बढीको ६ हजार ६०८, नेशनल लाइफको ४३ करोड बढीको ३ हजार ३७ वटा पोलिसी त्याग गरेका छन् ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सका ४ हजार ६१५, एशियन लाइफका ४ हजार ९००, सूर्यज्योति लाइफ इन्स्योरेन्सका २ हजार ५२८, मेट लाइफका २ हजार ५६, सानिमा रिलायन्स लाइफका ८७५, सिटिजन लाइफका १ हजार ९२ जना बीमितले पोलिसी त्याग गरेका छन् ।
पुससम्म आइएमई लाइफ इन्स्योरेन्सका ६५४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ४९०, रिलायबल नेपाल लाइफका ७८० जना र सन् नेपाल लाइफमा सबैभन्दा कम ३०७ वटा पोलिसी सरेन्डर गरेका छन् ।