मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको झन्डै आधा काम सकियो, २० किमी कालोपत्र

काठमाडौं । मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वी खण्ड (मुग्लिन-जामुने)को काम झन्डै आधा सकिएको छ । लक्ष्य अनुसार अपेक्षित प्रगित हासिल गर्न नसकेकाे यस सडक विस्तारले पछिल्लो समय भने गति लिएको हो ।

पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार यस खण्डमा हालसम्म २० किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । तनहुँको डुम्रेदेखि छिर्कनसम्म १४ किमी र आँबुखैरेनी क्षेत्रमा ६ किमी गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको हो ।

उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब ३ किमी दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ ।

उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताए । पूर्वीखण्डका लागिरु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

यस खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि गरिएको हो । करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार विसं २०८१ वैशाखसम्म सक्नेगरी सम्झौता भएको थियो ।

पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा १६० भौतिक संरचनाका रु १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका रु ६ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ ।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७८ भदौदेखि काम सुरु भई विसं २०८१ भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

पश्चिम खण्डका लागि रु ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताए ।

यती एयरलाइन्सले एकैपटक ल्यायो दुई ‘एटीआर-७२’ जहाज Read Previous

यती एयरलाइन्सले एकैपटक ल्यायो दुई ‘एटीआर-७२’ जहाज

महिला लघुवित्तले पनि यस वर्ष लाभांश नदिने Read Next

महिला लघुवित्तले पनि यस वर्ष लाभांश नदिने