माघभित्र सडकका सबै खाल्डाखुल्डी पुरिने, सवा १ अर्ब बजेट विनियोजन

काठमाडौं । सडक विभागले माघ भित्र सडकका सबै खाल्टा पुर्ने भएका छ । विभागले पर्यटन वर्षलाई लक्षित गर्दै यही माघ महिनाभित्र उपत्यका लगायत राष्ट्रिय राजमार्गका सडकमा भएका खाल्डाखुल्डी पुर्न लागेको हो ।

 

खाल्डाखुल्डी पुर्नलाई १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको विभागका सिनियर डिभिजन इन्जीनीयर लक्ष्मी दत्त भट्टले जानकारी दिए ।

 

उनका अनुसार हाल सबै डिभिजन कार्यालयहरुसँग सडकका अवस्थाका बारेमा जानकारी माग गरिएको छ । भक्तपुर सडक डिभिजनले आफ्नो सडक अवस्थाको बारेमा जानकारी दिइसकेको छ ।

 

भक्तपुर सडकमा २३ हजार स्क्वायर मिटर सडक पिच गर्नुपर्ने देखिएको छ ।कूल ९ हजार किलोमिटर सडकमा परेका खाल्डाखुल्डी पुरिने भट्टले बताए ।

 

यस्तै सडक ओभर ल्याप गर्नका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उपत्यकाका विभिन्न ठाउँमा ओभर ल्यापिङ समेत गरिने योजना रहेको विभागले जनाएको छ ।

 

यस्तै पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै पूर्व पश्चिम नाकामा समेत सडक मर्मतका कामहरु गरिने योजना विभागको रहेको छ ।

 

चालू आर्थिक वर्षमा सडक विभागले कूल खर्चको ७ प्रतिशत मात्र काम पूरा गरेको विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।

 

चालू आवमा कूल १ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो । कार्तिक मसान्तसम्ममा ८ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ मात्र खर्च भएको छ ।विभागले प्रथम चौमासिकमा २७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

 

चालू आवको कार्तिक महिनासम्ममा सडक विभाग अन्तर्गत ५८ किमि नयाँ ट्रयाक निर्माण भएको छ । २ सय ८८ किमि सडक खण्ड ग्राबेल गरी २ सय ७७ किमि सडक कालोपत्रे स्तरमा स्तरोन्नती भएको विभागले जनाएको छ ।

 

चालू आवमा कूल ३ सय वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीय सडक पुल अन्तर्गत २३ वटा र रणनीतिक महत्वका सडकहरु अन्तर्गत १२ पुलहरु गरी जम्मा ३५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको विभागका सूचना अधिकारी सुवालले जानकारी दिए ।

 

विभागले करिब ७ हजार २ सय किमि सडकको नियमित पटके मर्मत संभार र ५ सय २४ किमि आवधिक मर्मत गर्ने लक्ष्य राखेकोमा ६४ किमि सडकको आवधिक मर्मत कार्य सम्पन्न भएको उनले बताए ।

पुलचोक-थापाथली फ्लाइओभरको डीपीआर अन्तिम चरणमा Read Previous

पुलचोक-थापाथली फ्लाइओभरको डीपीआर अन्तिम चरणमा

सेयर बजारमा सुधारको संकेत, सूचक र कारोबार दुवै बढ्यो Read Next

सेयर बजारमा सुधारको संकेत, सूचक र कारोबार दुवै बढ्यो