पुनर्बीमा कम्पनीले १ वर्षभित्र चुक्ता पूँजी २० अर्ब पुर्याउनुपर्ने, कुनले कति थप्नुपर्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता बढाउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले पुनबीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो ।

ठूलो जोखिम बहन गर्ने कम्पनी बलियो हुनुपर्ने भन्दै प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने निर्णय गरेको हो । प्राधिकरणले पुनर्बीमा कम्पनीलाई १५ दिन भित्र पूँजी वृद्धिको योजना पेश गर्न निर्देशन समेत दिएको छ ।

प्राधिकरण अनुसार पुनर्बीमा कम्पनीहरुले अब २०८१ माघ मसान्तसम्म चुक्ता पूँजी पुर्याउनुपर्नेछ ।

हाल नेपालमा दुई वटा पुनर्बीमा कम्पनी संचालनमा छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको लगानीको हिमालयन रि-इन्स्योरेन्स रहेका छन् ।

हाल नेपाल पुनर्बीमाको कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको छ । अब प्राधिकरणले तोकेको पूँजी पुर्याउन यस कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख ५७ हजार रुपैयाँ थप्नुपर्नेछ ।

निजी क्षेत्रको हिमालयन रिले भने चुक्ता पूँजी दोब्बरले बढाउनु पर्ने भएको छ । गत महिना मात्रै आइपीओ सूचीकृत गरेको कम्पनीको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । अब २० अर्ब पुर्याउन कम्पनीले १० अर्ब रुपैयाँ पूँजी थप्नु पर्नेछ ।

प्राधिकरणले यसअघि जीवन र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी साढे दुई गुणाले बढाएको थियो । साविकमा २ अर्ब चुक्ता पूँजी रहेको जीवन बीमा कम्पनीको ५ अर्ब र १ अर्ब चुक्ता पूँजी रहेका निर्जीवन बीमालाई साढे २ अर्ब पुर्याउन निर्देशन दिएको थियो ।

गत असार मसान्तसम्म चुक्ता पूँजी पुर्याउन निर्देशन दिए पनि हालसम्म आधा मात्रै कम्पनीले तोकिएको पूँजी पुर्याएका छन् ।

 

२४ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा सरकारको चासो, प्रधानमन्त्रीले गरे छलफल Read Previous

२४ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा सरकारको चासो, प्रधानमन्त्रीले गरे छलफल

नेप्से फेरि २१०० विन्दु तल झर्‍यो Read Next

नेप्से फेरि २१०० विन्दु तल झर्‍यो