बैंकको बाहेक सेयर २०० रुपैयाँ कममा पाइन छाड्यो, अझै पाइन्छ यी १३ कम्पनीको

काठमाडौं । सेयर बजारमा २०० रुपैयाँभन्दा कम मूल्यमा सेयर पाइन छाडेको छ । केही वाणिज्य बैंक र हाइड्रोपावर बाहेक अरू सबै क्षेत्रका कम्पनीको सेयर मूल्य २०० रुपैयाँ माथि पुगेको हो ।

लामो समयदेखि बियरिस ट्रेन्डमा रहेको नेप्से पछिल्लो डेढ महिना यता नेप्से बढ्न थालेपछि सूचीकृत अधिकांश कम्पनीहरूको सेयर मूल्य २०० रुपैयाँ माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो । राष्ट्र बैंकले नीतगत दरहरू र सेयर धितो कर्जाको जोरिखमभार घटाएको थियो । जसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

मौद्रिक नीति समीक्षा यता (डेढ महिना)मा नेप्से परिसूचक २९० अंकले बढिसकेको छ । मंसिर दोस्रोसाता १८३० को तल्लो विन्दुमा रहेको नेप्से मंगलबार २११९ विन्दुमा आइपुगेको छ । ३४ कारोबार दिनमा नेप्से १६ प्रतिशतले बढ्दा २०० रुपैयाँ मुनि सेयर मूल्य भएका अधिकांश कम्पनीको भाउ बढेर अहिले सोभन्दा माथि पुगेको हो ।

जबकि डेढ महिना अघि ४० बढी कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम थियो । अहिले जम्मा १३ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा पनि अधिकांश वाणिज्य बैंकहरू रहेका छन् । यसअघि २०० रुपैयाँभन्दा कम मूल्य भएका सबै हाइड्रोपावर अहिले बढेर सोभन्दा माथि पुगेका छन् ।

यसअवधिमा नेप्से २९० अंकले बढे पनि वाणिज्य बैंकहरूको सेयर मूल्य भने बढ्न सकेको छैन । अन्य क्षेत्रका तुलनामा वाणिज्य बैंकहरूको सेयर संख्या धेरै भएकाले आपूर्ति अधिक हुँदा मूल्य बढ्न नसकेको हो । नेप्सेमा बैंक तथा वित्तीय संस्थाको एकतिहाई बढी हिस्सा छ ।

साथै, दोस्रो त्रैमासमा बैंकहरूको खराब वित्तीय विवरणले पनि मूल्यमा प्रभाव पारेको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको नाफा १० प्रतिशतले घटेको थियो । औसत खराब कर्जा बढेर औसतमा साढे ३ प्रतिशत पुगेको छ भने १ दर्जन बैंकको वितरण योग्य नाफा ऋणात्मक छ । जसले गर्दा समग्र नेप्से बढ्दा पनि बैंकको सेयर मूल्य बढ्न नसकेको हो ।

यता, धेरै जसो हाइड्रोपावरहरू पनि घाटामै छन् । वित्तीय अवस्था निकै नाजुक छ । तर, हाइड्रोपावर कम्पनीहरूको सेयर संख्या कम भएकाले स्वार्थ समूहले सजिलै चलखेल गर्न सक्ने हुँदा पनि मूल्य बढेको हो । अधिकांश हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिन सक्ने अवस्था छैन । कम्पनीको नाफाबाट प्रतिफल नपाए पनि बजारमा मूल्य बढ्दा नाफा कमाउन सकिने देखेर लगानीकर्ताह हाइड्रोपावरको सेयरमा आकर्षित भएको देखिन्छ ।

यी हुन् अझै २०० रुपैयाँ कममा पाइने कम्पनी

हाल नेप्सेमा २४९ कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । तीमध्ये ५ प्रतिशत अर्थात् १३ कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा तल छ । सस्ता सेयर मूल्य भएका १३ कम्पनीमध्ये ८ वटा वाणिज्य बैंक, ४ वटा हाइड्रोपावर र एउटा लगानी समूहको कम्पनी रहेका छन् ।

नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये ८ बैंकको सेयर मूल्य अझै २०० भन्दा कम छ । नेप्सेका अनुसार कुमारीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता १५२.९ रुपैयाँ छ । कुमारी नेप्सेमा सूचीकृत कम्पनी मध्ये सबैभन्दा सस्तो सेयर मूल्य हुने कम्पनी समेत हो ।

त्यसैगरी, सस्ता सेयर मूल्य भएका वाणिज्य बैंकहरूमा क्रमशः प्रभु प्रतिकित्ता १५६.२ रुपैयाँ, लक्ष्मी सनराइज १६९ रुपैयाँ, सिटिजन, १७० रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा १७२.९ रुपैयाँ, माछापुच्छ्रे १८९.३ रुपैयाँ, एनएमबी १९६ रुपैयाँ र ग्लोबल आइएमई १९८.५ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये ४ कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा हिमाल दोलखाको सबैभन्दा सस्तो प्रतिकित्ता १५३.५ रुपैयाँ छ । त्यसैगरी, नेशनल हाइड्रोको प्रतिकित्ता १७७.९ रुपैयाँ, शिवश्री हाइड्रोपारको १९१.८ रुपैयाँ र घलेम्दी हाइड्रोपावरको १९२ रुपैयाँ छ ।

लगानी समूहको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि सेयर मूल्य २०० रुपैयाँभन्दा कम अर्थात् १९१.५ रुपैयाँमा किन्न पाइन्छ ।

 

 

१६औँ योजनाका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूले दिए यस्ता सुझाव Read Previous

१६औँ योजनाका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूले दिए यस्ता सुझाव

जाल्पा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने Read Next

जाल्पा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने