काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ)जारी गरेको रिलायन्स स्पिनिङ मिल्सको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण हुने भएको छ ।
नेप्सेले सोमबार खोलेको शिलबन्दी अनुसार ९१२ रुपैयाँमै मागभन्दा बढी आवेदन परेकाले सो मूल्य नै अन्तिम हुने देखिएको हो ।
कम्पनीले माघ १० गतेदेखि १४ गतेसम्म संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा कुल ६४ योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । तीमध्ये १८ लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँ दरले आवेदन दिएका थिए ।
नेपाल धितोपत्र बोर्डले कम्पनीको आइपीओको लागि न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म रेन्ज तोकेको थियो । जसमा संस्थागत लगानीकर्ताले माथिल्लो रेन्जमै आवेदन हालेका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् कुल १९ लाख २६ हजार ६०० कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ । सोमध्ये ४० प्रतिशत सेयर संस्थागत लगानीकर्तालाई बेचेको हो । अब बाँकी सेयर सर्वसाधरण, म्युचुअल फण्ड र कम्पनीका कर्मचारीलाई बेच्नेछ ।
रिलायन्सको कटअफ मूल्य निर्धारण भएसँगै अब आम सर्वसाधरणले निर्धारित मूल्यभन्दा १० प्रतिशत सस्तोमा सेयर किन्न पाउने छन् ।बुकबिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ । सो अनुसार अब सर्वसाधरणले ८२०.८० रुपैयाँमा आवेदन दिन पाउने छन् ।
बुक बिल्डिङ विधिबाट खुलेको आइपीओमा कम्तीमा ५० कित्ता आवेदन दिनुपर्नेछ । सो अनुसार सर्वसाधरणलाई कम्पनीको आइपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले क्रम्पनीको समयमै वित्तीय दायित्व बहन गर्न क्षमता पर्याप्त रहेको जनाउँदछ ।
रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने नेपालकै ठूलो उद्योग हो । कम्पनीको मुख्य उद्योग ‘ए’ इँटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बी’ इँटहरी नगरपालिका वडा नं. ४ दुहावी, सुनसरीमा छ ।
कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डको पोलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ ।कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम लगायत मुलुकमा निर्यात गर्दै आएको छ ।