काठमाडौं । स्टार्टअप व्यवसायीले विभिन्न १६ क्षेत्रका सहुलियत कर्जा पाउने भएका छन् । सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ स्वीकृति गर्दै यस्तो व्यवस्था गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ११ गते स्वीकृत गरेको कार्यविधि अनुसार विभिन्न १६ क्षेत्रका व्यवसायीले स्टार्ट अप कर्जा पाउने छन् । विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, कृषि तथा पशुपन्छी, वन पैदावर, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्रमा स्टार्टअप कर्जा पाइने छ ।
यस्तै, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खाद्य उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा कर्जा लिन पाइने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि स्वीकृत भएसँगै सरकारले चालु वर्षको बजेटमा राखेको स्टार्टअप कर्जा खर्च गर्ने बाटो खुलेकाे छ । सरकारले चालु वर्षमा स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यविधि अनुसार व्यवसायीले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
यस्तो कर्जा ३ किस्तामा पाइने छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राख्नु पर्नेछ ।