अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १३५ मेगावाटको हाइड्रो बन्दै, बुटवल पावर र चीनकाे लगानी

सांकेतिक तस्वीर ।

मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै १३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने १ हजार ८३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उनले बताए ।

मन्त्रिपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता दिएको उनले बताए ।

मनाङमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको आयोजनाका लागि एक्यापको वन क्षेत्रमध्ये ३३.४७ हेक्टर क्षेत्रलफलमा निर्माण हुने आयोजनाका सहायक प्रबन्धक राजकुमार बरालले बताए। उनका अनुसार आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको उक्त क्षेत्रमा आयोजना निर्माण हुनेछ ।

उनले भने, ‘प्रशासनिक कार्य गरिरहेका छौँ । कम्तीमा तीन÷चार महिनापछि आयोजनाको संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ ।’

आयोजना निर्माणका लागि मनाङको सदरमुकामस्थित चामे गाउँपालिकाको १, २, ३ र ५ र नासों गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनीका प्रबन्धक महर्जनले बताए ।

उनले भने, ‘मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौँ । अब हाम्रो कम्पनीको नाममा सार्नका लागि आवश्यक काम भइरहेको छ ।’ वन क्षेत्रको जग्गा २५ वर्षसम्म आयोजनाले उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको  छ ।

मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताए ।

आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।

आयोजनाको कुल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण उपलब्ध गराउने सम्झौता भएको उनले बताए । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु १ अर्ब ३३ करोड स्वपूँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।

१३५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने महर्जनले जानकारी दिए । सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड ४३०. २० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर छ । आयोजनामा २० प्रतिशत बीपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ ।

आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त ड्याम (पर्खाल) बनाउने गरी नासों–८ कम्लोमा पावर हाउस बनाउनका लागि आवश्यक कार्यालय स्थापना गरिसकेको आयोजनाले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै वन्यजन्तु विभागलगायतका सम्बन्धित निकायसँग सम्झौता गरी विकास निर्माणको काम अघि बढाइने प्रबन्धक महर्जनले बताए ।

विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल मुहान भएको मस्र्याङ्दी नदीबाट लमजुङको माथिल्लो मस्र्याङ्दी आयोजना, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना र तनहुँमा मस्र्याङ्दी जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन तथा वितरण भइरहेको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

रिलायबल लाइफ र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

रिलायबल लाइफ र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?