३% घट्यो निर्जीवन बीमा व्यवसाय, शिखरलाई पछ्याउँदै सलिको, कुनकाे कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना (साउन–पुस)मा निर्जीवन बीमा व्यवसाय ३ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको पुसको तुलनामा चालु आवकाे साेही अवधिमा बीमा शुल्क संकलन ३.१९ प्रतिशतले घटेको हो ।

प्राधिकरणका अनुसार चालु वर्षको पुससम्म १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा कम्पनीले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँले कम हो । गत वर्ष पुससम्म १४ निर्जीवन बीमा कम्पनीले मात्रै २० अर्ब ८ करोड २५ रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु वर्षमा १४ निर्जीवन बीमा कम्पनीले १९ अर्ब ३९ करोड र ३ निर्जीवन लघुबीमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु वर्षमा ३ निर्जीवन लघु बीमा कम्पनी थपिए पनि व्यवसाय भने खुम्चिएको हो । अर्थतन्त्रमा आएको संकुचनका कारण निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का लागेको हो । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय खुम्चिएको छ भने उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ । मुख्यगरी सवारीसाधनको व्यापार घट्दा निर्जीवन बीमा व्यवसायमा असर परेको हो ।

समीक्षा अवधिमा बीमा शुल्क संकलन घटे पनि बीमालेख संख्या भने बढेको छ । गत वर्ष ६ महिनामा १३ लाख ९५ हजार ३२ वटा पोलिसी जारी भएकोमा चालु वर्षको सोही अवधिमा १४ लाख ४१ हजार ४४९ वटा पोलिसी जारी भएका छन् ।

पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६७ करोड ५० लाख ६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना कम्पनीहरूले २ लाख ५९ हजार ८१५ वटा बीमालेख जारी गरेका छन् ।

शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी

चालु वर्षमा १४ मध्ये ८ कम्पनीको प्रिमियम संकलन बढेको छ भने ६ वटाको घटेको छ । जसमा राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै ५०.७५ प्रतिशतले घटेको छ भने ओरेन्टलको सर्वाधिक ३३.३८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ४५ करोड ७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा शिखरको प्रिमियम ७.६० प्रतिशतले घटेको छ

यस्तै, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले दोस्रो धेरै प्रिमियम संकलन गरेको छ । पुससम्म सलिकोले २ अर्ब ३४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत वर्षको तुलनामा यसको पनि व्यवसाय ४.९७ प्रतिशतले घटेको छ ।

प्राधिकरणका अनुसार पुससम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९७ करोड, हिमालयन एभरेष्ट १ अर्ब ६७ करोड, आइजीआई प्रुडेन्सियल १ अर्ब ६६ करोड, नेको १ अर्ब ६१ र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड पिूमियम संकलन गरेका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब २५ करोड, सानिमा जीआइसी १ अर्ब १५ करोड, प्रभु ९७ करोड, ओरेन्टल ९३ करोड, नेपाल इन्स्योरेन्स ७५ करोड, राष्ट्रिय बीमा कम्पनी ६९ करोड र नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ६१ करोड बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, लघुबीमा तर्फ नेपाल माइक्रोले २ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रो १ करोड ६५ लाख र स्टार माइक्रोले ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस सडकमै भासिएपछि... Read Previous

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस सडकमै भासिएपछि...

भन्सार प्रशासन मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्छ : अर्थमन्त्री Read Next

भन्सार प्रशासन मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्छ : अर्थमन्त्री