काठमाडौं । सवारी प्रदुषणको नयाँ मापदण्ड बीएस–यूरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
बिहीबार अटो पत्रकार संघ (जाम)को आयोजनामा सवारी प्रदुषण मादण्ड यूरो ६को कार्यान्वयन र समस्याको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा व्यवसायीहरुले नयाँ प्रदूषण मापदण्डका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा वातावरण विज्ञ भुषण तुलाधरले ३० प्रतिशत प्रदुषण सवारीसधानबाटै हुने भएकाले नेपालमा जतिसक्दो छिटो यूरो ६मा जानुपर्ने बताएका थिए ।
‘अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडीहरु यूरो सिक्समै आधारित भएर आइरहेका छन् तर, समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यक्ता हो’ तुलाधरले भने ‘विश्वमा यूरो सिक्स २०१४ देखिनै सुरु भएको हो । यूरो थ्री लागू गरेको १२ वर्ष भइसकेको हुनले तत्काल नेपालमा यूरो सिक्स जानु आवश्यक छ ।’
उनका अनुसार अझ डिजेल गाडीलाई प्राथामिकतामा राखेर नयाँ मापदण्डमा लानु पर्ने उनको भनाइ थियो । नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा)का करण चौधरीले नेपाल प्रदुषण मापदण्ड नयाँ कार्यान्वयनका लागि सरकारले निश्चित समय दिनुपर्ने बताए । चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधी नभएको बताए ।
‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौं । सरकारले यूरो सिक्स लागू गर्ने तयारी गरिरहेको छ । तर, सकारले व्यवसायीलाई पनि समय दिनुपर्छ । सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छन्’, चौधरीले भने ।
उनले थपे ‘जुन दिनबाट यूरो ६ लागू गर्नुपर्ने सूचना निस्कन्छ सो दिनबाट व्यवसायीलाई समय दिएर सरकारले सहयोग गर्नुपर्छ । यूरो सिक्समा जाँदा मेकानिक्सहरु पनि तयार हुनुपर्छ ।’
अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरु राज्यको प्राथामिकतामा नपरेको बताए । ‘यूरो सिक्स होस् अथवा अन्य बिषयमा होस् सरकारले हामीसँग सल्लाह गर्नुपर्छ’, हामीनै तयार नभइ सरकारले किन यूरो सिक्स लागू गर्न खोजेको भन्दै प्रश्न गरे ।’
‘अर्बौको लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदुषण मापदण्डका लागि केही वर्ष समय दिनुपर्छ’ उनले भने ।
वन तथा वातावरण मन्त्रालयका सीढीई (मेकानिकल) शिवराज शर्माले बीएस /यूरो ६ कार्यान्व्यनका लागि एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडि बढिसकेका गाडीहरुको लागि केहि समय दिने मन्त्रालयको तयारी रहेको बताए । उनले भने ‘कति समय दिने भन्ने विषय टुङ्गो नलागिसकेको र समय दिने विषयमा मन्त्रीज्यू पनि व्यवसायीलाई समय दिने बिषयमा सकारात्मक हुनुहुन्छ ।’
उनले मन्त्रालय दुई वर्ष अघि नै यूरो सिक्समा जाने विषयमा आवश्यक कार्य गरेर सरकारलाई बुझाएको बताए । ‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो सिक्स परीक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने बिषयमा पनि छलफल भएको छ र यो बिषयमा अर्थमन्त्रीपनि सकारात्मक भएको हामीले पाएका छौं,’ शर्माले भने ।
वातावरण विभागका दीपक ज्ञवालीले नयाँ प्रदुषण मापदण्ड लागू गराउन व्यवस्थापकीय भूमिकामा सबै व्यवसायी, सरकारले प्लान गरेर अगाडि बढ्नुपर्ने बताए ।
‘पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदुषण मापदण्ड चेकचाज भइरहेको छ’ उनले भने ‘सवारी मेकानिक्स व्यावसायीहरुसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ,’ ज्ञावालीले भने ।
अहिले चलिरहेको पुराना गाडीहरुलाई पनि फेजआउट गर्न पनि एउटा प्लान बनाए जानुपर्ने उनको भनाइ छ । सवारी प्रदुषण जाच केन्द्र टेकुका कार्यालय प्रमुख मणिराम भुसालले यूरो २ को टुल अनुसार नै सवारी प्रदुषण चेकजाँच भइरहेको बताए ।
‘अहिले मालवाहक, सरकारी निकाय र संस्थानका गाडीहरु सवारी प्रदुषणमा फेल हुने गरेको देखिन्छ’ उनले भने ‘डिजेलबाट चल्ने गाडीहरुले नै प्रदुषण धेरै गर्ने गरेको पाइएको छ ।’
२० वर्षे पुराना गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनले बताए ।
‘पुराना गाडीहरुको विषयमा एक समिति बनाएरै जानुपर्ने अवस्था देखिएको छ,’ उनले थपे ‘सवारी प्रदुषण चेकजाचलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारलेपनि सहयोग गर्नुपर्छ ।’
गोल्छा समूहका निर्देशक अभिमन्यू गोल्छाले एलसी खोलेको र आयातको प्रक्रियामा रहेकालाई सहुलियत दिएर यूरो ६ लागू गर्नुपर्ने बताए । ‘हामीले लामो समयदेखि बिएस सिक्सयको विषयमा छलफल गर्दै आएका छौं । अब बीएस सिक्समा जान ढिलो गर्नुहुँदैन । अझै समय दिएर बिएससिक्समा जान जुरुरी छैन । तत्काल जानुपर्छ,’ गोल्छाले भने ।
लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले नेपालको सवारी प्रदुषण मापदण्डलाई अपग्रेड गर्नै पर्ने देखिएको तर, व्यवसायीको समस्यालाईपनि सरकारले हेर्नपर्ने बताए । उनले भने ‘ व्यवसायीले गाडी अर्डर गरेको हुन्छौं, आयातको प्रक्रियामा समेत छन । त्यसकारणपनि सरकारले यूरो सिक्सको लागिसमय दिनैपर्छ’ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी संघका अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डरमा गाडी ल्याउने भन्ने बिषयमा व्यवसायीको हात नहुने बताए । ‘यूरो सिक्स लागू गर्ने कुरामा कुनै दुईमत रहेन तर, सार्वजनिक यातायात २० वर्षे समयअवधि व्यवहारिक छैन’ स्वाँरले भने ‘ अब हामी ईभीमा जाने हो कि हाइड्रोजनमा जाने सरकार यो बिषयमा क्लियर हुन जारुरी छ ।’
त्यस्तै, कार्यक्रममा यूरो सिक्सको विषयमा सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृति राजनबाबु श्रेष्ठले कर्मशियल गाडीहरुमा सबैभन्दा धरै बीएस थ्री र बीएस सिक्सका धेरै गाडी गुडिरहेको बताए ।
‘यूरोसिक्सको विषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्नीसियन, तालिम तथा उपकरणको बिषयमापनि गृहकार्य गरिरहेको छ,’ राजनबाबु श्रेष्ठले भने ‘लोकल टेक्निसियन तर्फ पनि सिप्रदीले सवारी प्रदूषणको नयाँँ मापदण्डको विषयमा तयारी गर्दै आएका छौं’ । नाडाबाट पनि बीएस ६को तालिम दिर्दै आएका उनको भनाई छ ।
अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० बर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए ।
‘अहिले सरकारले सवारी प्रदुषण मापदण्ड यूरो ६ मा जाने तयारी गरिरहेको छ । यसमा व्यवसायीले साथ दिनुपर्छ । सरकारले पनि नेपाल आउने क्रममा रहेका र अर्डर भएको गाडीलाई समय दिएर नेपालमा नयाँ प्रदुषण मापदण्डमा जानैपर्छ’, गजुरेलले भने ।