काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २४६.९३ प्रतिशतले बढेको हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ८६ लाख ४२ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झण्डै साढे ३ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा छलाङ मारेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३९ प्रतिशतले घटेर २ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा लघुवित्तको संचालन नाफा भने ११३.८३ प्रतिशतले बढेर ७२ लाख ४ हजार रुपैयाँ पुगेका छ ।
समीक्षा अवधिमा लघुवित्तले ३२ करोड ४३ लाख रुपैयाँ निक्षेप र १ अर्ब २८ करोड रुपैयाँ सापटी लिई कुल १ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल ९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ४० लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १८.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ३.५४ प्रतिशतबाट घटेर १.५४ प्रतिशतमा झरेको छ ।