काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिना (साउन–पुससम्म) झन्डै पौने खर्ब प्रिमियम संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीले पुस मसान्तसम्म ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा जीवन बीमा कम्पनीको व्यवसाय ३.६१ प्रतिशतले बढेको हो । गत वर्ष पुससम्म जीवन बीमा कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।
आर्थिक मन्दीका बाबजुद जीवन बीमा व्यवसायमा सुधार आएको छ । अर्थतन्त्रमा आएको संकुचनले समग्र बैंकिङ व्यवसायमा गिरावट आइरहेको बेला जीवन बीमा व्यवसाय भने बढेको देखिएको हो ।
चालु आवको पुस मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ७४ अर्ब २२ करोड र ३ लघुबीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
समग्रमा बीमा शुल्क संकलन बढे पनि प्रथम बीमा शुल्क भने घटेको छ । यस अवधिमा बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन नसके पनि पुरानै पोलिसीले भरथेग गरेको छ ।
गत वर्ष पुससम्म १४ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा यस वर्ष १३ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा नवीकरण शुल्क भने झन्डै ३ अर्ब बढेको छ । गत वर्ष ६ महिनामा पोलिसी नवीकरणबाट ५७ अर्ब ४७ करोड प्रिमियम संकलन गरेका कम्पनीहरूले यस वर्ष सोही अवधिमा ६० अर्ब ४० करोड रुपैयाँ संकलन गरेका छन् ।
समीक्षा अवधिमा कुल प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । गत वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या ३ लाख ५३ हजार ७५४ वटाले घटेको छ । गत वर्षको पुससम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ४१ लाख ९ हजार १५० रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३७ लाख ५५ हजार ३९६ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।
यद्यपि, यस अवधिमा धेरै नयाँ पोलिसी बिक्री गर्न नसकेको र पुराना केही पोलिसि परिपक्क भएकाले पनि बीमालेख संख्या घटेको बीमा कम्पनीहरु बताउँछन् ।
नेपाल लाइफको वर्चश्व कायमै, लघुबीमाको नगन्य
समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले मात्रै २० अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.९६ प्रतिशत हिस्सा हो ।
यसैगरी , यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो धेरै ८ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै, हिमालयन लाइफले ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ७५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८ अर्ब ६६ करोड, एशियन लाइफ ३ अर्ब ७२ करोड बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड, मेट लाइफ २ अर्ब ६८ करोड, आइएमई लाइफ २ अर्ब १० करोड, सन नेपाल १ अर्ब ७८ करोड, रिलायबल लाइफ १ अर्ब ९३ करोड, सिटिजन लाइफ २ अर्ब ७३ करोड, सानिमा लाइफ २ अर्ब ८५ करोड र प्रभुमहालक्ष्मी लाइफले सबैभन्दा कम २ अर्ब ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
समीक्षा अवधिमा लघुबीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ६ महिनामा जम्मा २ करोड ५२ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।
जसमा गार्डियन माइक्रो लाइफले ६६ लाख ३६ हजार, क्रेष्ट माइक्रो लाइफले १ करोड ५७ लाख र लिबर्टी माइक्रो लाइफले २८ लाख २६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।