काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र ईयूको व्यापार हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ ।
आयोगका उपाध्यक्ष ईयूले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र ईयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ ।
ईयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपूँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई ईयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छिन् ।
ईयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेकी छिन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।