भारतबाट इलाम हुँदै नेपाल आउँदा मोटरसाइकलले २१० रुपैयाँ तिर्नुपर्ने

इलाम । नेपाल-भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो ।

प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु ५१० र मोटरसाइकलको रु २१० राजस्व लिने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै उनले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने व्यवस्था नहुँदा भएको समस्या हट्दै जाने बताए ।

कार्यक्रममा कोशी प्रदेशका यातायात महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा केन्द्र सञ्चालनले सहज हुने जानकारी दिए।

यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मिट भएका सवारीले अन्यत्र जाँदा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजस्व बुझाउने व्यवस्था गरिएको छ । प्रमुख खतिवडाका अनुसार एक पटक पटके काटेका भारतीय सवारीले सात दिनसम्म कोशी प्रदेशभित्र जान पाउने व्यवस्था गरिएको छ ।

सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । व्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरिएको प्रमुख खतिवडाले जानकारी दिए। उनले भने, ‘केन्द्र स्थापना भएपछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्वसमेत बढ्ने छ ।’

केन्द्र उद्घाटन पहिलो दिन नै १५ सवारीले पटके काटेको केन्द्रले जनाएको छ । पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई केन्द्र स्थापनाले सहज हुने जनाइएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो ।

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले केन्द्र सञ्चालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक सन्देश जाने बताउनुभयो । पशुपतिनगर नाका भएर ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् ।रासस

चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’ सकियो, आजदेखि १.३८ करोड कित्ता बेच्न पाइने Read Previous

चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’ सकियो, आजदेखि १.३८ करोड कित्ता बेच्न पाइने

१६औँ योजना कार्यान्वयनका लागि सहयोग गर्न ईयूको प्रतिबद्धता Read Next

१६औँ योजना कार्यान्वयनका लागि सहयोग गर्न ईयूको प्रतिबद्धता