१६ वाणिज्य बैंकको नाफा घट्यो, नबिल बन्यो धेरै कमाउने, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । बैंकहरूले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको खुद नाफा औसतमा ९.९४ प्रतिशतले घटेको हो ।

पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १८ करोड रुपैयाँ कम हो । बैंकहरूले गत वर्षको पुससम्म ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको नाफा घटेको छ भने ४ वटाको मात्र बढेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण ऋण असुलीमा समस्या भई खराब कर्जा बढ्दा बैंकहरूको नाफा प्रभावित भएको हो ।

आर्थिक मन्दीका कारण व्यापार व्यवसाय चौपट भएको छ भने उद्योगहरू न्यून क्षमतामा संचालन भएका छन् । जसकारण व्यवसायीले बैंकको ऋण तिर्न सकेका छैनन् । ऋणीले समयमै ऋण तिर्न नसकेपछि बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ ।

खराब कर्जा बढेपछि प्रोभिजनबापत ठूलो रकम छुट्याउनु परेपछि बैंकहरूको नाफा घट्न पुगेका हो । कर्जा असुली हुन नसक्दा अधिकांश बैंकको खराब कर्जा बढेको छ भने आधादर्जन बढी बैंकको ५ प्रतिशत नजिक पुगेको छ ।

साथै, व्यवसाय विस्ता गर्न नसक्दा पनि बैंकहरूको नाफामा असर परेको छ । आर्थिक शिथिलताका कारण बैंकहरूले कर्जाको माग नहुँदा बैंकहरूले नयाँ ऋण लगानी गर्न सकेका छैनन् । पुरानै लगानीको ऋणले मात्र आम्दानी गरिरहेको अवस्था छ ।

त्यस्तै, केही बैंकले एफपीओको प्रिमियम र मर्जरबाट प्राप्त बार्गेन पर्चेज गेनमा कर तिर्नुपर्दा पनि नाफामा असर गरेको हो ।

यी हुन नाफा बढाउने ४ बैंक

समीक्षा अवधिमा अधिकांश बैंकको नाफा घट्दा पनि ४ बैंकले भने बढाउन सफल भएका छन् । जसमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ठूलो छलाङ मारेको छ । गत वर्ष पुससम्म १२ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको कृषिले चालु वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, समीक्षा अवधिमा हिमालन, प्राइम कमर्सियल, र एभरेष्ट बैंकले पनि नाफा बढाउन सफल भएका छन् । जसमा हिमालयनले खुद नाफा ५७.५३ प्रतिशत बढाएको छ । गत वर्ष पुससम्म ९५ करोड नाफा कमाएको हिमालयनले यस वर्ष सोही अवधिमा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, समीक्षा अवधिमा प्राइम कमर्सियलको खुद नाफा ३२.१३ प्रतिशत र एभरेष्ट बैंकको ७.८८ प्रतिशतले बढेको हो ।

नबिल बन्यो सर्वाधिक कमाउने

समीक्षा अवधिमा २० बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । पुससम्म नबिलले कुल ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा नबिलको नाफा ६.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै, दोस्रो धेरै नाफा कमाउनमा प्राइम कमर्शियल बैंक रहेको छ । गत वर्षको तुलनजामा ३२.१३ प्रतिशतले नाफा बढाएको प्राइमले पुससम्म २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा ग्लोबल आइएमई र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब बढी नाफा कमार्एको छन् । यस अवधिमा १४ वटा बैंकले १ अर्ब बढी नाफा कमाएका छन् । जसमा १० बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

समीक्षा अवधिमा एनआइसी एशिया १ अर्ब ९० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब ८० करोड, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब ७२ करोड, एभरेष्ट १ अर्ब ७१ करोड र हिमालयनले १ अर्ब ५० करोड नाफा कमाएको छ ।

एनएमबी, कृषि विकास, सानिमा, सिद्धार्थ, र लक्ष्मी सानराइजले डेढ अर्बभन्दा कम नाफा कमाएका छन् । यस अवधिमा ६ बैंकको नाफा १ अर्बभन्दा कम छ । कुमारी, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, प्रभु र नेपाल बैंकको नाफा १ अर्बभन्दा कम छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको नेपाल बैंक सबैभन्दा कम नाफा बमाउने बैंक बनेको छ । पुससम्म नेपाल बैंक्ले ५९ करोड खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा नेपाल बैंकको नाफा ४९ प्रतिशतले घटेको हो ।

पुलचोक-गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा Read Previous

पुलचोक-गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा

प्यूठानको मल्लरानीमा ‘जिपलाइन’ निर्माण Read Next

प्यूठानको मल्लरानीमा ‘जिपलाइन’ निर्माण