प्यूठानको मल्लरानीमा ‘जिपलाइन’ निर्माण

प्यूठान । प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।

जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले रु १ करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिए ।

मल्लरानी गाउँपालिका-४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छभने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहेका भारतीले बताए ।

‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी ६५० मिटरको छ । भारतीले भने, ‘जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।’ जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ । जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ ।

पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छ्रे लगायतका थुप्रै हिमाल देख्न सकिन्छ ।

यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ ।

मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् ।

१६ वाणिज्य बैंकको नाफा घट्यो, नबिल बन्यो धेरै कमाउने, कुनको कति ? Read Previous

१६ वाणिज्य बैंकको नाफा घट्यो, नबिल बन्यो धेरै कमाउने, कुनको कति ?

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह Read Next

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह