आइपीओमा रेकर्ड बनाएको हिमालयन रिले दोस्रो बजारमा पनि बनायो नयाँ कीर्तिमान

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले सेयर बजारमा सर्वाधिक कारोबारको कीर्तिमान बनाएको छ । बिहीबार एकैदिन कम्पनीको १ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच हुँदै नयाँ कीर्तिमान बनाएको हो ।

एकैदिनमा भएको कारोबार रकमका आधारमा यो सेयर बजार इतिहासकै धेरै हो । यसअघि २०७७ पुस ८ गते नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४३ करोडको कारोबार हुँदै एकैदिन सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार हिमालयन रिको ३० लाख ४४ हजार ७०२ कित्ता सेयर किनबेच भएको छ । १ लाख ५४ हजार ११ पटकमा उक्त कारोबार भएको हो ।

कारोबारमा रेकर्ड बनाउँदा कम्पनीको सेयर मूल्यमा पनि तीव्र उतरचढाव आएको छ । आज प्रतिकित्ता ६१४.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य घटेर ५५८ रुपैयाँ आएको थियो भने अन्त्यमा ८.४४ प्रतिशतले बढेर ६५३ रुपैयाँ पुगेको छ ।

८ दिनमै बन्यो सातौं ठूलो कम्पनी, सेयर मूल्य दोब्बर

सेयर मूल्य बढेसँगै हिमालयन रि बजार पूँजीकरणका आधारमा  साताैं ठूलो कम्पनी समेत बनेको छ । पुस २३ गतेदेखि कारोबारमा हिमालयन ८ कारोबार दिनमै सातौं ठूलो कम्पनी बन्न सफल भएको हो । बिहीबारको अन्तिम कारोबार सेयर मूल्यका आधारमा हिमालयन रिको कुल बजार पूँजीकरण ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । संस्थापक र साधरण गरी कुल १० करोड कित्ता सेयर सूचीकृत छ ।

यो पनि पढ्नुहोस् : हिमालयन रि-इन्स्योरेन्समा सरकारदेखि ठूला व्यापारीसम्मको लगानी, कसको कति ?

कारोबारमा आएको दिनदेखि लगातार आठौं दिन सेयर मूल्य बढेको छ । लगातार सात दिनसम्म पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर कूल्य आज पनि ८.४४ प्रतिशतले बढेको हो । प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ८ दिनमै दोब्बर बढी भएको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४३.८ रुपैयाँ बढेर ६५३ रुपैयाँ पुगेको छ ।

आइपीओमा पनि बनाएको थियो कीर्तिमान

हिमालयन रि इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओमा) पनि रेकर्ड बनाएको थियो । इतिहासकै दोस्रो ठूलो आइपीओ ल्याएको कम्पनीले कुल १५ लाख ९८ हजार ६५१ जना (सर्वसाधरण, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसहित)सेयरधनी बनाउँदै नयाँ रेकर्ड बनाएको थियो ।

यो कुनै पनि नेपाली कम्पनीको आइपीओमा लगानी गर्ने हालसम्मकै धेरै संख्या हो । अर्थात् हिमालयन रि सबैभन्दा धेरै व्यक्तिले आइपीओ पाउने कम्पनी बनेको छ । त्यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आइपीओ १४ लाख ७५ हजार ८ जनाले पाएका थिए ।

नेपालको दोस्रो पुनर्बीमा कम्पनी समेत रहेको हिमालयनको कुल चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ । जसमा संस्थापकहरूको ७ अर्ब रुपैयाँ र सर्वसाधरणको ३ अर्ब रुपैयाँ लगानी छ । कम्पनी नेपालका प्रतिष्ठत व्यापारिक घराना, व्यवसायीदेखि सरकारी बैंकसम्मको लगानी छ ।

कम्पनीमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक, इन्फिनीटी होल्डिङ, जगदम्बा मोटर्सको, जगदम्बा स्टिल्स, साफ्रोन सीके इन्भेष्टमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको लगानीको हंसराज हुलासचन्द एण्ड कम्पनी, सशीकान्त अग्रवा, सौर्य सिमेन्ट, सन्दीप अग्रवाल, राहुल अग्रवाल, शालिमार इन्भेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाशप्रसाद सिरोहिया, पशुपति मुरारका, सिरिश मुरारका लगायतको लगानी छ ।

स्वदेशी पुनर्बीमा कम्पनीहरूले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी पुनर्बीमा कम्पनीमा गर्न पाउने व्यवस्था । नेपालमा जम्मा दुई वटा मात्रै पुनर्बीमा कम्पनी रहेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स । कानुनले नै पुनर्बीमा कम्पनीको व्यवसाय सुनिश्चित गरिदिएको छ ।

यो पनि पढ्नुहोस् : ठूला घरानाको लगानीको हिमालयन रि-इन्स्योरेन्स, जसले बनायो १६ लाखलाई सेयरधनी

 

नेप्सेमा ३४ अंकको उतरचढाव, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा ३४ अंकको उतरचढाव, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जहाज चढेर लुक्का जाने पर्यटक २३ प्रतिशत बढे Read Next

जहाज चढेर लुक्का जाने पर्यटक २३ प्रतिशत बढे