काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनीको रुपमा स्थापित हिमालयन रि-इन्स्यारेन्सले झन्डै १६ लाख जनालाई सेयरधनी बनाउँदै इतिहास रचेको छ । नेपालका ठूला व्यापारिक घरानाको लगानी रहेको यस इन्स्योरेन्समा कुल १५ लाख ९८ हजार ६५१ जना (सर्वसाधरण, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसहित)सेयरधनी बनेका हुन् ।
यो कुनै पनि नेपाली कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा लगानी गर्ने हालसम्मकै धेरै संख्या हो । अर्थात् हिमालयन रि सबैभन्दा धेरै व्यक्तिले आइपीओ पाउने कम्पनी बनेको छ । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आइपीओ १४ लाख ७५ हजार ८ जनाले पाएका थिए ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सर्वसाधरणतर्फ १५ लाख ६४ हजार ५६४ जनाले १० देखि ४० कित्तासम्म सेयर पाएका छन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका ३२ हजार ५६ नेपालीले १० देखि १८० कित्तासम्म सेयर पाएका थिए ।
निफ्राले इतिहासकै धेरै ८ करोड कित्ता आइपीओ बिक्रीमा ल्याए पनि हिमालयनकोभन्दा कम आवेदन परेको थियो । ३० वर्षे नेपाली सेयर बजार इतिहासमा हिमालयनले दोस्रो धेरै अर्थात् कुल ३ करोड कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा सर्वसाधरणलाई २ करोड ४९ लाख, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख, म्युचुअलफण्डलाई ३० लाख र कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता छुट्याइएको थियो ।
संचालनमा आएको दुई वर्षमै आइपीओ जारी गरेको हिमालयन रिको लाइसेन्स प्रक्रियामै चलखेल भएको आरोप लागेको थियो । केही व्यक्तिले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोस्ने यसको स्थापन गरिएको बताएका थिए । सो बेला स्वार्थ समूहले अर्बौं रुपैयाँ उठाएर लाइसेन्स लिएको हल्ला समेत चलेको थियो ।
कुल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापकहरुको ७ अर्ब रुपैयाँ लगानी छ भने सर्वसाधरणको ३ अर्ब लगानी छ । कम्पनी नेपालका प्रतिष्ठत व्यापारिक घराना, व्यवसायीदेखि सरकारी बैंकसम्मको लगानी छ । कम्पनीमा सबैभन्दा धेरै सेयर लगानी अम्बर प्रोभेष्टमेन्टको रहको छ । यसको कम्पनीमा ६७ करोड ८५ लाख रुपैयाँ अर्थात् ६७ लाख ८५ हजार कित्ता सेयर छ ।
त्यसैगरी, कम्पनीमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक, इन्फिनीटी होल्डिङ, जगदम्बा मोटर्सको, जगदम्बा स्टिल्स, साफ्रोन सीके इन्भेष्टमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको लगानीको हंसराज हुलासचन्द एण्ड कम्पनी, सशीकान्त अग्रवा, सौर्य सिमेन्ट, सन्दीप अग्रवाल, राहुल अग्रवाल, शालिमार इन्भेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाशप्रसाद सिरोहिया, पशुपति मुरारका, सिरिश मुरारका लगायतको लगानी छ ।
यो कम्पनी २०७८ जेठ २३ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई २०७८ असार ३१ देखि संचालनमा आएको हो । यसको मुख्य व्यवसाय बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने हो । कम्पनीले पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुने रकम, बीमा शुल्कबाट बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी थप प्रतिफल लिने, विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।
यो पनि पढ्नुहोस् :हिमालयन रि-इन्स्योरेन्समा सरकारदेखि ठूला व्यापारीसम्मको लगानी, कसको कति ?
स्वदेशी पुनर्बीमा कम्पनीहरूले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी पुनर्बीमा कम्पनीमा गर्न पाउने व्यवस्था । नेपालमा जम्मा दुई वटा मात्रै पुनर्बीमा कम्पनी रहेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स । कानुनले नै पुनर्बीमा कम्पनीको व्यवसाय सुनिश्चित गरिदिएको छ ।
यसअघि यी कम्पनीको आइपीओ लाखौंले पाएका थिए
नेप्सेमा हाल ३०० बढी कम्पनी सूचीकृत छन् । तर, अधिकांश कम्पनीको सेयर पाउनेको संख्या न्यून छ । वाणिज्य बैंक, विकास बैंक र लगानी समूहका केही कम्पनी बाहेक अधिकांशको चुक्ता पूँजी थोरै रहेको छ । त्यसमा पनि केही कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत मात्र सेयर सर्वसाधरणलाई जारी गरेका छन् । जसमा केही हजारले मात्र आइपीओ पाएका छन् ।
सेयर बजारमा केही यस्ता कम्पनी छन्, जसको आइपीओ हजारौं होइन लाखौंले पाएका थिए । अपर तामाकोशीको आइपीओलाई नेपाली सेयर बजारको गेम चेञ्जर आइपीओको रुपमा लिइन्छ । यसले सेयर जारी गर्नु अघि कयौं कम्पनीको आइपीओ आए पनि सर्वसाधरणले खासै सेयर भर्ने गर्दैनथे । कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थाकै आइपीओ समेत अन्डरराइटरले व्यहोर्नुपर्ने अवस्था थियो ।
२०७५ मा आइपीओ जारी गरेको तामाकोशीको सेयर ६ लाख बढीले हात पारेका थिए । कम्पनीले कुल २ करोड ६४ लाख ७५ हजार कित्ता (सर्वसाधरण र स्थानीय बासिन्दा) सेयर जारी गरेकाे थियाे ।जसमा सर्वसाधरण तर्फ ३ लाख ३४ हजार ७५ जनाले ५० कित्तासम्म सेयर पाएका थिए भने २ लाख ७६ हजार स्थानीयले न्यूनतम ३४ कित्ता सेयर हात पारेका थिए ।
त्यस्तै, कोरोनाको महामारीकै बीच आएको नेपाल पुनर्बीमा कम्पनीकाे आइपीओ पनि ४ लाख ५० हजार बढीले पाएका थिए । कम्पनीले २०७६ चैतमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो ।
त्यसैगरी, २०७७ माघमा निफ्राले ८ करोड कित्ता आइपीओ जारी गरेको थियो । जसमा पौने १५ लाख लगानीकर्ताले १० देखि ६० कित्तासम्म सेयर हात पारेका थिए । सूचीकृत हुने बित्तकै निफ्राको सेयर मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । जसले सेयर बजारप्रति लगानीकर्ता ह्वात्तै आकर्षित गरेको थियो ।
१० कित्ते नीतिले बनाउँदै छ लाखौंलाई सेयरधनी
केही हजारले पाउने सेयर लाखौंको संख्यामा पाउने व्यवस्था गरेको हो नेपाल धितोपत्र बोर्डले । पूँजी बजारमा जनसहभागीता बनाउन बोर्डले २०७५ देखि कार्यन्वयनमा ल्याएको १० कित्ते नीति कोशेढुंगा बनेको छ ।
सो अघि कुनै पनि धितोपत्रको सार्वजनिक निष्काशनमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था परिवर्तन गर्दै बोर्डले कम्तीमा १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गर्यो । त्यसपछि पूँजी बजारमा आउनेको संख्या ह्वात्तै बढेको छ । सो बेला करिब ५ लाख हाराहारीमा रहेका लगानीकर्ताको संख्या अहिले ५८ लाख (डिम्याट खाताको आधारमा) पुगिसकेका छ ।
थोरै संख्यामा आइपीओ जारी गर्दा केही हजारले पाउने भए पनि धेरै कित्ता ल्याउँदा पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँड्नु पर्ने व्यवस्थाका कारण लाखौंले सेयर पाउने भएका हुन् ।