काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्लो ३ दिनमा नेप्से परिसूचक ७१ अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ५ अर्ब २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बुधबार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ विन्दुमा आइपुगेको छ । आज ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे १८ करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड बढीको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा, माइ खोला र त्रिशूली जलविद्युत्का सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।