हिमालयन रि-इन्स्योरेन्समा सरकारदेखि ठूला व्यापारीसम्मकाे लगानी, कसको कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधरणका लागि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता १०६ रुपैयाँ थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले २ करोड ४९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डबाट कुल ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीलाई गरी ५१ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।

सेयर संख्याका आधारमा हिमालयन रिले बिक्रीमा ल्याएको आइपीओ नेपाली सेयर बजार इतिहासकै दोस्रो ठूलो हो । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २०७७ माघमा इतिहासकै ठूलो ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीओ बिक्रीम ल्याएको थियो ।

हिमालयन रिको आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कस्तो हो कम्पनी ?

यो कम्पनी २०७८ जेठ २३ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई २०७८ असार ३१ देखि संचालनमा आएको हो । यसको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ । आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रही सम्बन्धित निकायबाट स्वीकृती लिई स्वदेशमा कर्पाेरेट क्षेत्रीय र शाखा कार्यालय तथा विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछ ।

यो कम्पनीको मुख्य व्यवसाय बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने हो ।  कम्पनीले पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुने रकम, बीमा शुल्कबाट बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी थप प्रतिफल लिने, विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।

स्वदेशी पुनर्बीमा कम्पनीहरूले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी पुनर्बीमा कम्पनीमा गर्न पाउने व्यवस्था । नेपालमा जम्मा दुई वटा मात्रै पुनर्बीमा कम्पनी रहेका छन् । सरकारी लगानीको  नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स । कानुनले नै पुनर्बीमा कम्पनीको व्यवसाय सुनिश्चित गरिदिएको छ ।

यस्तो छ वित्तीय अवस्था

२१ अर्ब अधिकृत पूँजी रहेको इन्स्योरेन्सको जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । हाल ७ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले आइपीओपछि चुक्ता पूँजी १० रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा ३ अर्ब ४८ करोड कुल प्रिमियम संकलन गरेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.३२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

कम्पनीले चालु आवको अन्त्यसम्म खुद नाफा १ अर्ब २ करो, आव २०८१/८२ मा १ अर्ब ५५ करोड र आव २०८२/८३ मा २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी यस वर्ष १०.२६ रुपैयाँ, आगामी वर्ष १५.५२ रुपैयाँ र आव २०८२८३ मा २२.८६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेका छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

को को छन् संचालक ?

कम्पनीको अध्यक्षमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा  छन् । त्यस्तै, साहिल अग्रवाल, अमित मोर, साक्षी बंसल (गुप्ता) संस्थापकतर्फबाट संचालक छन् । सुभासकुमार झुनझुनवाला (स्वतन्त्र) सञ्चालक छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत मुकेशकुमार कपुर, कार्यकारी निर्देशकहरूमा मनिषकुमार र दीपककुमार श्रेष्ठ छन् । कम्पनीका ३२ जना कर्मचारी छन् । जसमा २९ स्थायी छन् ।

को–को छन् प्रमोटर सेयर होल्डर ?

आइपीओपछि १० अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने कम्पनीमा संस्थापक (प्रमोटर)सेयर होल्डरको हिस्सा ७० प्रतिशत रहेको छ । कम्पनीमा विभिन्न व्यक्ति तथा संस्थाको कुल ७ करोड कित्ता प्रमोटर सेयर रहेको छ ।

कम्पनीको संस्थापक सेयरधनीहरूमा नेपालका प्रतिष्ठत व्यापारिक घराना, व्यवसायीदेखि सरकारी बैंकसम्मको लगानी छ । कम्पनीमा सबैभन्दा धेरै सेयर लगानी अम्बर प्रोभेष्टमेन्टको रहको छ । यसको कम्पनीमा ६७ करोड ८५ लाख रुपैयाँ अर्थात् ६७ लाख ८५ हजार कित्ता सेयर छ । यो आइपीओपछि कायम हुने कुल चुक्ता पूँजीको ६.७८ प्रतिशत हो ।

त्यसैगरी, कम्पनीमा सरकारी स्वामित्वका दुई बैंकको १ अर्ब लगानी रहेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको समान ५०/५० करोड रुपैयाँ अर्थात् ५०/५० लाख कित्ता सेयर लगानी छ ।  यो आइपीओपछि कायम हुने कुल चुक्ता पूँजीको १० प्रतिशत हो ।

त्यस्तै, इन्फिनीटी होल्डिङको ४५ करोड रुपैयाँ (४५ लाख कित्ता), जगदम्बा मोटर्सको ३२ करोड रुपैयाँ (३२ लाख कित्ता),  विकास दुगड र जगदम्बा स्टिल्सको समान २२/२२ करोड रुपैयाँ लगानी रहेको छ । 

त्यसैगरी, कम्पनीमा साफ्रोन सीके इन्भेष्टमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको लगानीको हंसराज हुलासचन्द एण्ड कम्पनीको समान २०/२० करोड रुपैयाँ लगानी छ । त्यस्तै, आरएमसी कन्स्ट्रक्शन, सशीकान्त अग्रवाल समान १५/१५ करोड, कार्भी ग्लोबल प्रालि, अटल फिन्कोर्प, ककोर्ड फिन्कोर्प र कालिका फिन्कोर्पको समान १३ करोड ५० लाख रुपैयाँ लगानी छ ।

त्यस्तै, सौर्य सिमेन्ट, सन्दीप अग्रवाल, राहुल अग्रवाल, विकास जेबी राण, शालिमार इन्भेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाशप्रसाद रिोहिया, किर्ति एपेक्स, ओन्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्सको समान १०/१० करोड रुपैयाँ अर्थात् १०/१० लाख कित्ता सेयर लगानी रहेको छ ।

त्यसैगरी, एक्सप्रेस इन्भेष्टमेन्ट, कामधेनु इन्भेष्टमेन्ट समान ९/९ करोड, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र सिरिश मुरारकाको समान ७ करोड २५ लाख रुपैयाँ लगानी रहेको छ ।

कम्पनीमा सर्वसाधरणतर्फ (वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष, कम्पनीक कर्मचारी र आम सर्वसाधरणको) गरी कुल ३ अर्ब रुपैयाँ अर्थात् ३ करोड कित्ता सेयर लगानी रहने छ ।

ठेकेदारको चरम लापारबाही : ३ वर्षमा सक्नुपर्ने पुल ८ वर्षमा बनेन, ३ पिलर मात्रै ठडिए Read Previous

ठेकेदारको चरम लापारबाही : ३ वर्षमा सक्नुपर्ने पुल ८ वर्षमा बनेन, ३ पिलर मात्रै ठडिए

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?