काठमाडौं । शेयर बजारमा धेरैभन्दा धेरै जनालाई सहभागिता गराउन र सामूहिक लगानीका लागि सहज होस् भनेर सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को स्थापना गरिएको हुन्छ ।
यसलाई शेयर बजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा लिइन्छ । यिनमा न्यूनतम रकम भएका हरुले पनि लगानी गर्न सक्छन् ।
म्युचुअल फण्डले छरिएर रहेका थोरै-थोरै पूँजीलाई एकीकृत गरी विभिन्न वित्तीय औजारहरुमा लगानी गरेका हुन्छन् । र, त्यही लगानीबाट आएको प्रतिफलबाट लगानीकर्तालाई प्रत्यक वर्ष नगद लाभांश प्रदान गर्दछन् ।
यिनले सेयर बजार (प्राथमिक तथा दोस्रो), विभिन्न बैंकहरुको डिवेञ्चर, सरकारी बन्ड आदिमा लगानी गरेका हुन्छन् भने बैंकहरुमा मुद्दती मौज्दातमा समेत राखेका हुन्छन् ।
म्युचअल फण्डले कम्पनीको विस्तृत अध्ययन गरेर सम्भावित जोखिम कम भएका कम्पनीमा मात्र लगानी गर्ने रणनीति अपनाएका हुन्छन् ।
वित्तीय क्षेत्रलाई बुझेका र प्राविधिक, आधारभूत लगायत अन्य विविध दृष्टिकोणबाट विश्लेषण गरेर सेयर बजारकाको साथै अन्य वित्तीय उत्पादनहरुमा लगानी गर्ने भएकाले म्युचुअल फण्डको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।
म्युचुअल फण्डको बजार मूल्य र कार्तिक मसान्तकाे न्याभ मूल्यांकन :
सेयर बजार लगायत लगानीका अन्य वित्तीय क्षेत्रहरु राम्रोसँग नबुझेका, ज्ञान नभएका वा समय नभएकाले हरुले म्युचुअल फण्डको रणनीति पछ्याउनु पनि एक उत्तम बाटो मानिन्छ ।
नेपाली सेयर बजार अहिले लामो समयदेखि शिथिल बनेको छ । लगानीकर्ताहरुमा कुनै उत्साह र उमंग छैन । कारोबार रकम पनि न्यून छ । सेयर बजारको सूचक पनि महिनौंदेखि स्थिर छ ।
लामो समयदेखि घटिरहेको सेयर बजारमा म्युचुअल फण्डहरु पनि प्रभावित भएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १७ वटा म्युचल फण्डहरुमध्ये अधिकांशको खुद सम्पत्ति मूल्य (न्याभ) आधारभूत मूल्यभन्दा कम रहेको छ ।
न्याभ भन्नाले म्युचुअल फण्डले लगानी गरेको कूल पूँजीको बजार मूल्यको योगफलबाट बाट कूल दायित्य घटाएर बाँकी रहेको सम्पत्तिलाई कूल ईकाई संख्याले भाग गर्दा आउने अंक हो ।
हाल धितोपत्र बजारमा सूचीकृत भई कारोबारमा आएका १२ वटा म्युचुअल फण्डमध्ये २ वटाको मात्र न्याभ आधारभूत मूल्यभन्दा बढी रहेका छन् भने १० वटाको न्याभ आधारभूत मूल्य भन्दा कम रहेका छन् ।
म्युचुअल फण्डको आधारभूत मूल्य प्रति एकाई १० रुपैयाँ रहेको हुन्छ । हाल कारोबार भइरहेका सबै म्युचुअल फण्डहरुको बजार मूल्य पनि आधार मूल्य भन्दा तल रहेका छन् ।
बजार मूल्यभन्दा बढी न्याभ भएका म्युचुअल फण्डमा लगानी गर्दा भविष्यमा राम्रो फाइदा कमाउनुको साथै जोखिम समेत न्यून रहने गर्दछ ।
म्युचुअल फण्डहरुले कात्तिक महिनामा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सिटिजन्स् म्युचुअल फण्ड–१ र एनआसी एशिया ब्यालेन्स फण्डको न्याभ आधर मूल्यभन्दा बढी नै रहेको छ ।यिनको कात्तिक महिनाको न्याभ क्रमशः १०.२५ र १०.०६ रुपैयाँ रहेको छ भने बजार मूल्य क्रमशः ८.६३ र ९.९ रुपैयाँ रहेको छ ।
कात्तिकमा ५ वटा म्युचुअल फण्डको न्याभ ९ रुपैयाँभन्दा बढी र आधर मूल्य भन्दा कम रहेको छ । लक्ष्मी भ्यालू फण्ड १, एनआबीएल समृद्धि फण्ड –१, एनएमबी हाइब्रिड फण्ड १, सानीमा इक्वीटी फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको न्याभ आधार मूल्यभन्दा कम रहेको छ ।
यस्तै, ग्लोबल आइएमई स्कीम १, लक्ष्मी इक्वीटी फण्ड, नबिल इक्वीटी फण्डको न्याभ ९ रुपैयाँभन्दा कम रहेको छ ।
हाल दोस्रो बजारमा कारोबार भइरहेको एनआबीएल प्रगति फण्डको न्याभ सबैभन्दा कम रहेको छ । कात्तिक महिनामा यसको न्याभ ७.९० रुपैयाँ रहेको भने बजार मूल्य ७.३१ रुपैयाँ रहेको ।