तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।
हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए। केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए। उनले भने, ‘यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।’
आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, ‘केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।’
यसैगरी, निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ । होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए । उनले भने, ‘होटलको काम पनि अन्तिम चरणमा पुगेको छ, पहिला केबलकार सञ्चालनमा आउने र होटलको काम बाँकी नै रहेकाले होटलपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’
प्रतिघण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ । विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
विसं २०८१ मङ्सिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु २ अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा ३०० रहेकामा त्यसलाई बढाएर ५०० पुर्याइएको छ ।
होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, ‘बेनक्युट हल’ र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।
यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको ५ तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ ।
बन्दीपुर–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
केबलकारको साधारण सेयरको सार्वजनिक निष्कासन (आइपीओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु १०० दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।
रु तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पूँजी रु २ अर्ब १५ करोड रहेको छ । त्यसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात् रु ४ करोड ३० लाख परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ । चुक्ता पूँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ ।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।