काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा ५४ अंकले बढेर बन्द भएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ८ अर्ब २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यो २ वर्ष यताकै धेरै हो । यसअघि २०७८ माघ २० गते ८ अर्ब बढीको कारोबार भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसँगै लगानीकर्ताको मनोबल बढ्दा नेप्सेले छलाङ हानेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको बेला ब्याजदर घटेपछि लगानीकर्ता हौसिएका हुन् ।
साथै, पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु १ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् भने आन्तरिक सूचकमा पनि क्रमशः सुधार देखिँदै गएको छ । जसकारण लगानीकर्ताको मनोवल बढाएको छ ।
त्यस्तै, साढे २ वर्या यता बियरिस ट्रेन्डिङमा रहेको नेप्सेले अब बुल ट्रेन्डिङ समात्ने लगानीकर्ताको अपेक्षा छ । यसले पनि लगानीकर्ताले सेयर किनबेच बढाएका हुन् ।
मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशतले बढेको छ ।
आज सोनापुर सिमेन्ट सेयर सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, निफ्रा २३ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर २१ करोड रुपैयाँ बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज १४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुटवल पावर, युनाइटेड मोदी, हिमालयन पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल वेयर हाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स, मकर जितुमाया हाइड्रोपावर, दिव्यश्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र तेह्रथुम पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।