काठमाडौं । एक दर्जन वाणिज्य बैंकको आधारदर (बेसरेट) एकल अंकमा झरेको छ । बैंकहरूले पछिल्लो महिनाहरूमा लगातार निक्षेपको ब्याजदर घटाई लागत घटाएसँगै बेसरेट पनि ओरालो लागेको हो ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो (मंसिरको)बेसरेट अनुसार औसत बेसरेट ९.६९ प्रतिशतमा झरेको छ । जबकि असोजसम्म वाणिज्य बैंकको औसत बेसरेट नै दोहोरो अंक अर्थात् १० प्रतिशत माथि थियो ।
पछिल्लो विवरण अनुसार हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको बेसरेट एकल अंकमा झरेको छ भने ८ वटाको अझै १० प्रतिशत माथि रहेको छ । विगतमा निक्षेपमा उच्च ब्याजदर दिएका ती बैंकहरूको अझै बेसरेट एकल अंकमा झर्न नसकेको हो । यद्यपि, दोहोरो अंकका बेसरेट भएका बैंकहरूको पनि घट्दो क्रममा भने छ ।
बैंकिङ प्रणालीमा अधिक तरता थुप्रिएपछि र कर्जाको माग समेत नबढेपछि अधिकांश बैंकहरूले कात्तिकदेखि निक्षेपको ब्याजदर लगातार घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेपछि बैंकको खर्च घट्न गई आधारदर सस्तिएको हो ।
पछिल्लो ४ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर ३ प्रतिशतसम्म घटाएका छन् भने औसतमै डेढ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।
विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरु भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । बैंकमा पैसा थुप्रिँदा पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बेसरेट पनि घट्दै गएको हो ।
बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । नेपाल राष्ट्र बैंकले गत पछिल्लो समय महिनैपिच्छे बेसरेट पनि परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि बैंकहरूले ३/३ महिनामा मात्रै बेसरेट परिवर्तन गर्न पाउँथे । बेसरेट घटेसँगै कर्जाको ब्याजदर समेत सस्तिने भएको छ ।
विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १४/१५ प्रतिशतमा झरेको छ । यद्यपि, व्यवसायीले भने अझै कर्जाको ब्याजदर महँगो नै रहेको बताउँदै आएका छन् ।

केही बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतमै ऋण दिन थालेका छन् । यद्यपि, बेसरेट उच्च भएकाले अझै पनि अधिकांश बैंकले चाहेर पनि १० प्रतिशतभन्दा तलको ब्याजदरमा कर्जा दिन सक्ने अवस्था छैन ।
अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा पैसा मात्र थुप्रिरहेको तर, लगानी हुन नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर अझै घटाउने देखिन्छ । जसले आगामी दिनमा बैंकको बेसरेट पनि थप घट्न गई कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रुपमा कम बेसरेट भएका बैंकहरूले केही सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।
अहिले बैंकहरूको औसत बेसरेट ९.६९ प्रतिशत रहेको छ । जसमा ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको औसत ब्याजदर साढे १४ प्रतिशत हाराहारी रहेको छ । यद्यपि, केही बैंकले अहिले १० प्रतिशत ब्याजदरमै ऋण दिन थालेका छन् ।
अहिले विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट सबैभन्दा कम ७.७७ प्रतिशत मात्र रहेको छ । बैंकले यसमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर अधिकतम १२.७७ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छ ।
यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको पनि बेसरेट ९ प्रतिशतभन्दा कम छ । यी बैंकले पनि अधिकतम साढे १३ प्रतिशतमै कर्जा दिन सक्छन् ।
त्यसैगरी, नेपाल, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक्को बेसरेट साढे ९ प्रतिशतभन्दा कम छ भने सानिमा ग्लोबल आइएमई, नेपाल एसबीआई, कृषि विकास बैंक्को १० प्रतिशतभन्दा कम छ ।
अहिले हिमालयन बैंकको बेसरेट सबैभन्दा महँगो रहेको छ । यसको बेसरेट १०.७७ प्रतिशत रहेको छ । यस बैंकले ५ प्रतिशत प्रिमियम जोडेर ऋण दिँदा साढे १५ प्रतिशतसम्म ब्याजदर पर्छ ।
त्यस्तै, एनमएमबी, सिटिजन, एनआइसी एशिया, प्राइम कमर्शियल, लक्ष्मी सनराइज र कुमारी बैंकको बेसरेट १० देखि साढे १० प्रतिशतको बीचमा रहको छ । यी बैंकबाट ऋण लिँदा अधिकतम १५ प्रतिशतसम्ममा पाइन्छ ।